ब्रम्हा, विष्णु र महादेव: को ठूलो?

एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन्।
महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन्- “लौ एउटा उँभो जाओ, अर्को उँधो। उँभो जानेले टुप्पो र उँधो जानेले फेद पत्ता लगाएर मात्र फर्कनू। जो पहिले फर्कन्छ उहि ठूलो।”

त्यसपछि विष्णु गरुड चढेर उँभो उडेछन् र ब्रम्हा चाहिं पुष्पक विमान चढेर उँधो लागेछन्।
बर्षौंपछि दुबै जना पसीना काढ्दै लखतरान् भएर फर्केछन् र महादेवलाई भनेछन्- “प्रभो, हामीले त उँभो-उँधो केही पत्ता लगाउन सकेनौं।”

अनि त्यसपछि महादेवले आफ्नो लंगौटी तल सार्दै भनेछन्- “देख्यौ त, को ठूलो रहेछ? ल अबदेखि को ठूलो भनेर झगडा नगर्नू। सृष्टिको नियम अनुसार आ-आफ्नो काम गर्नू। लौ जाओ फर्क अब।”

ब्रम्हा र विष्णु पनि त्यसपछि आपसमा मुखामुख हेर्दै आ-आफ्नो घरतिर लागेछन्।

साभार:
जयभुँडी (हाँस्य-व्यङ्ग्य) – भैरब अर्याल।

(माथि हाँस्य-व्यङ्ग्यको केही अंश मात्र साभार गरिएको हो।)