-लक्ष्मीकुमार कोइराला
मुकुट ह्युचुली सयौं टलल टल्टलाउँदो
हृदय लाख निर्झरी छलल छल्छलाउँदो
झलल दिव्य ज्योतिझैँ किरण जग्मगाउँदो
कुसुमझैं अनन्तमा म छु मग्मगाउँदो,
म त छु मुसकुराउँदो !
१
पशुपति प्रदेश हुँ अनि स्वतन्त्र देश हूँ
समझदार दृष्टिमा भुवनको म स्वर्ग हूँ,
बुझ म सानु स्वर्ग हूँ !
हरप्रभात विश्वमा किरण, शान्ति भर्दछु
सकल विश्वव-बन्धुको अभय शंख फुक्दछु
२
हृदयमाझ शान्तिका अमर दुत बुद्ध छन्
सगरमाथमा बसी सकल विश्व हेर्दछन्
तब त भावसिन्धुमा शत तरङ्ग चल्दछन्
सदय दिव्य ज्ञानले भुवन शुद्ध पार्दछन्
३
सुर-परी सरी यहीँ प्रकृति नृत्य गर्दछिन्
चमचमाउँदी उषा किरण लाख भर्दछिन्
तब त झन्झनाउँदै मन-सितार बज्दछन्
भुवन सत्य-सारका अमर गीत भज्दछन्
४
दिलभरी विशाल यो भुवन फूल फुल्दछ
अनि यहीँ स्वदेश यो प्रकृति स्वर्ग खुल्दछ
जुन स्वदेशमा सदा शिवउमा निवास छ
तब समस्त विश्वमा मगमगी सुवास छ
५
भ्रमर फूलमा सरी अतिथिवृन्द झुम्दछन्
अनि अनन्त मोहिनी रस पराग चुम्दछन्
यदि सदेह स्वर्गको भ्रमण गर्दछौ भने
हिमचुली प्रदेश यै प्रकृतिकुञ्जमा घुमे,
कविनिकुञ्जमा रमे !
६
-0-
-साभार: स्मृतिपुष्प (प्रथम संस्करण, वि. सं. २०७३)