पण्डितको जुँगा गानाको औषधी (नेपाली लोक दन्त्य कथा)

एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए । उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे ।

चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो । व्यासासनमा बसी ती ब्राम्हण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन “लाटाका देशमा गाँडा तन्नेरी” बनी जे मन लाग्यो त्यही सुनाई रहेका थिए । त्यसैबेलामा आचार्य पास गरी घर फर्कंदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे ।

पुराण लागेको देखी एकछिन म पनि सुनेर जान्छु भन्ने विचार गरेर उनी त्यहीं विश्राम गरी पुराण सुन्न थाले । लोकरञ्जन ब्राम्हणले सार्है अशुद्धसँग पुराण बाचेको सुनी ती पण्डितका मनमा यस्ता ढोंगी मूर्खलाई सजायँ दिनु पर्यो् भन्ने लाग्यो ।

जब पुराण सकियो सबैले फूलप्रसाद लिए । ती विद्वान पण्डितले पनि फूलप्रसाद लिए ।त्यही बेलामा लोकरञ्जन ब्राम्हणले जुँगा मुसार्दा जुँगाको एउटा रौं खस्यो । विद्वान पण्डितले झटपट त्यस रौंलाई टिपेर आफ्नो धोतीको टुप्पामा पोको पारी बाँधे ।

त्यो देखेर कथा सुन्ने गाउँलेहरूले किन रौं पोको पारी बाँधेको भनी सोधे । त्यसपछि ती विद्वान पण्डितले भन्न थाले- “पुराणको अन्त्यमा कथा भन्ने पण्डितको जुँगा लिन सके भूत-प्रेत, वीर, गानो केही कुराले पनि सताउन सक्दैन । त्यसैले यो रौं लिएको हो ।”

यति के सुन्नु थियो, पुराण सुन्ने हरूले धुइरेर लोकरञ्जन ब्राम्हणको जुँगा एक-एक गरेर उखालेर लगे । लोकरञ्जन ब्राम्हणको जुँगाको एउटा रौं पनि बाँकी रहेन । त्यसपछि ती विद्वान पण्डित ढोंगी मूर्खले सजायँ पायो भनी आफ्नो बाटो लागे ।

सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
भन्ने बेला तात्तातै मुखमा आइजाला
यो कथा चाहिएको बेला बैकुण्ठ जाला

तोरी फुल्या गाउँ, ज्वाईं मेरो नाउँ

एकादेशको एउटा गाँउमा ‘जसे’ नाम गरेको एउटा एकदम छट्टु मान्छे थियो । आफ्नो घर चलाउन सार्‍है कठिन भएपछि उसलाई सार्‍है खेद लाग्यो र उसले विचार गर्‍यो- “यो संसारमा सोझो भएर काम चल्दैन । केही बठ्याईं नगरे अब त भोकै मरिन्छ क्यारे ।” यस्तो सोचेर ऊ भोलिपल्टै घरबाट निस्कियो ।

जाँदा जाँदा बाटोमा उसले कमेरो (सेतो माटो) भेट्‍यो र त्यो माटो महँगो भाउमा बेच्ने सुरले चारमाना जति लिएर अगाडि बढ्‍यो । जाँदै गर्दा चार कोस जति हिंडेपछि उसले खेतमा गोरु जोतिरहेको एउटा मानिसलाई भेट्‍यो । हलोमा एउटा गोरु सेतो र अर्को कैलो थियो ।
उसले हलो जोत्‍ने किसानलाई भन्यो- “ओहो दाजु, यस्तो बेरंगा गोरु जोतेर के तमाशा गर्नु भएको ?”
किसानले भन्यो- “यसपाली यस्तै भो, अर्को साल कैलो गोरु बेची सेतो किन्‍नु पर्ला ।”
जसेले दाउ फ्याल्दै भन्यो- “ल, जम्मा एक मोहर खर्च लाग्छ । कैलो गोरुलाई सेतो पारिदिऊँ ?”
किसानले एकछिन गम खायो र घत मान्दै भन्यो- “लौ, हुन्छ त ।”
जसेले कमेरो घोलेर गोरुको जीउ रंगाईदियो । टाढाबाट हेर्दा गोरु सेतो देखियो । घिउलाटो किसान दंग पर्‍यो ।
किसानले भन्यो- “यहाँ त मसँग पैसा छैन । यति खेत जोतिसकूँ, अनि घरबाट ल्याएर दिउँला ।”
जसेले भन्यो- “ओहो, आफूलाई बेर भईराछ, कहाँ हुन्छ ?”
किसानले भन्यो- “लौ, त्यसो भए यसो गर, उ त्यो डाँडा छेउको घर मेरो हो । त्यहाँ गएर मेरी जहानसँग एक मोहर मागेर लैजाऊ । म यहाँबाट ‘दिनू’ भनिदिउँला ।”
जसे “हुन्छ” भनेर किसाननी कहाँ गयो र किसाननीलाई भन्यो- “भाउज्यू, दाईले गोरु किन्‍नु भो, 60 रुपियाँ दिनुपर्‍यो । सोध्नुस त ।”
किसाननीले त्यहींबाट हलोका गोरु हेरी, दुबै सेता ! सोधी- “होइन, यिनी पैसा माग्दैछन् । के गर्ने हो ?”
किसानले सबै कुरा सुनेन । सोझै भन्यो- “दे, दे ।”
किसाननीले जसेलाई 60 रुपियाँ गनेर दिई । पैसा हात पर्नासाथ छट्‍टु जसे त्यहाँबाट सुईंकुच्चा ठोकिहाल्यो ।

ऊता किसान खेत जोती वरी बेलुका घर फर्क्यो । किसाननीले गोरुलाई सेतो रंगको देख्दा सोधी- “हैन, किन यो गोरु सेतो देखिन्छ नि ?”
किसानले भन्यो- “रंगाएको गोरु कस्तो हुन्थ्यो त ? एक मोहरले गोरु रंगाएँ ! दुनियाँले भन्‍ने बाटो पनि भएन । अर्को सालचाहिँ गोरु किन्‍नै पर्ला ।”
लोग्नेको कुरा सुनेर स्वास्नीले जिल्ल पर्दै भनिन्- “हैन, के भन्‍नु हुन्छ ? दिउँसो मात्र 60 रुपियाँमा गोरु किन्‍नु भएको हैन ? त्यो पनि यस्तो अनुहार नपरेको, फेरि अर्को के गोरु किन्‍ने ?”
लोग्ने स्वास्नीका कुराले जिल्ल पर्‍यो, स्वास्नी लोग्नेका कुराले ।

यता किसानको डरले जसे रातारात जंगलको बाटो कुलेलम ठोक्दैथियो । जसेको गोडाले भालुलाई लाग्यो, भालु जर्‍याकमर्‍याक उठ्‍यो र जसेसँग कुस्ताकुस्ती पर्‍यो ।जसेले मौका पर्नासाथ भालुको कन्पारो समात्यो । भालुको केही जोर चलेन, तर जसे पनि थाकेर लखतरान भइसकेको थियो । लुगा धुजाधुजा भएको र कम्मरको पैसा राखेको थैलो खसेर रुपियाँ पनि छरियो ।
त्यै बेलामा पल्लो गाउँको मुखिया घोडा चढेर कसिकसाउ भएर कचहरीमा जान त्यै बाटो आइपुग्यो । त्यतिन्जेल राम्रै उज्यालो भइसकेको थियो । मुखियाले कुस्ती देखेर सोधे- “हैन, के हो यो, यस्तो ?”
छट्‍टु जसेले फेरि दाउ हाल्दै भन्यो- “मुखियासाहेब, हजूरको घोडा यहाँ नजीक नल्याउनुहोला । डराएर मेरो भालुले रुपियाँ छेर्न छोड्ला । बाटोमा मेरो मान्छे भेटिए ‘चाँडै जाओ’ भन्दिनुहोला । हजूरलाई 25 रु. भयो । भूईंबाट टिपेर लानुहोस् ।”
जसेको कुराले छक्‍क पर्दै मुखियाले भन्यो- “खुलासा भन न । मैले कुरा बुझिनँ ।”
जसेले भन्यो- “उसो भए सित्तैमा मुखिया हुनुभएछ । कुरा साफै छ । आज चार वर्षदेखि यो रुपियाँ छेर्ने भालुलाई समात्‍ने बन्दोबस्त गर्दै थिएँ । बल्ल बल्ल आज राती भेट्टाएँ तर त्यो बेला मेरो साथमा बालक छोरो मात्र थियो, मैले मौका पर्नासाथ भालुलाई पक्री गाउँबाट मानिस बोलाउन दौडाएँ । तर अझ आइपुगेनन् । म भने थाकिसकें ।”
मुखियाले भने- “अद्‍भुत भालु रहेछ । नपत्याउँ भने पनि सारा ठाउँमा रुपियाँ छेरिराखेको छ । तिमी पनि थाकिसकेका रहेछौ । मलाई पनि छोराको बिहे गर्न खर्च चाहिएको छ । तिम्रा मानिस नआउन्जेलसम्म म भालुको कन्पारो समाउँछु । छेरेको रुपियाँमा आधा तिम्रो आधा मेरो ।”
जसेले भन्यो- “बाठो हुनुहुँदोरहेछ, मुखिया साहेब ! मरी मरी गीत गाउँ म, मसला खाने तिम्रा बाउ ! चार वर्षदेखि दौडधुप गरूँ म, एक्‍कैछिन मदद दिंदैमा आधा रुपियाँ लिने तपाईं । पर्दैन, जानुहोस, मेरा मानिस आइहाल्छन् नि अब । थाकेको छु, 10 भागको 1 भागमा मान्‍नुहुन्छ भने घोडा अलिपर बाँधी लँगौटी मात्र लगाई तयार भई आउनुहोस् ।”
मुखियाले पैसा कमाउने असल उपाय देखे । लँगौटी कसी भालुको कन्पारो समाते । जसेलाई छुट्टी मिल्यो । सारा रूपियाँ पोको पारी मुखियाको लुगामा डटेर घोडा चढेर जसेले त्यहाँबाट बाटो ततायो । यो देखेर मुखियाको होश उड्‍यो । मुखियाले नदुखेको कपाल डोरी लगाई लगाई दुखायो । उता भालुले बल लगाउन थाल्यो । मुखियाले सकेनन् । दश-पाँच ठाउँमा चिथोरेर भालु जंगलभित्र पस्यो ।

जसे जाँदा जाँदा एउटा गाउँमा पुग्यो । मध्यान्हको समय थियो । जसेले गाउँको साहूकहाँ गएर भन्यो- “साहुजी, म परदेशी हुँ । तपाईंले म र मेरो घोडाको पेट भर्ने कुनै व्यवस्था मिलाई दिनु भए लागेको खर्च म तिर्नेछु । साहूले हुन्छ भन्यो ।
सबैजना यताउति लागेपछि जसेले 20 रुपियाँ झिकेर घोडाको लिदीमा मिलायो र 5 रुपियाँ उसको मलद्वारमा पनि घुसारिदियो ।
साहूले घोडाको लिदीमा 5 रुपियाँ देखे ! अनि भने- “ओहो परदेशी दाई, तपाईंको घोडाको लिदीमा रुपियाँ कताबाट आयो ?”
जसेले भन्यो- “साहूजी, यो मेरो अचम्मको घोडा हो । यसले दिनकै 25 रुपियाँ हग्छ । हेर्नुस् त, 20 रुपियाँ हगिसक्यो । 5 रुपियाँ अझ हग्न बाँकी छ ।”
नभन्दै त्यै बेलामा घोडाले अघि घुसारेको 5 रुपियाँ हगिदियो । यस्तो चमत्कार देखेर साहु दंग पर्‍यो । साहुलाई लोभ जाग्यो र उसले भन्यो- “परदेशी दाई, यस्तो रुपियाँ हग्ने घोडा लिएर परदेश गर्नु ठीक छैन । यो मलाई दिनुहोस् । परेको दाम म तिर्छु, घरसम्म जान म मेरो घोडा पनि दिन्छु । यो घोडा मलाई चिनो छोड्नुहोस् ।”
जसेले भन्यो- “बल्ल बल्ल मैले यो 5 हजारमा किनेको हुँ । मेरो परेको दाम र तपाईंको घोडा दिनुहोस् त । यो रुपियाँ हग्ने घोडा तपाईंको भयो ल ।”
साहू मक्ख पर्‍यो र उसले जसेलाई 5 हजार रुपियाँ र आफ्नो घोडा दियो र मुखियाको घोडा उसले लियो ।

जसेले साहूलाई पनि मुखियालाई जस्तै उल्लु बनायो र त्यहाँबाट पनि टाप कस्यो । जाँदा जाँदा जसे एउटा नदी किनारमा पुग्यो । त्यहाँ एउटी बूढी आईमाई र उसकी तरुनी छोरी बजार जान नदी तर्न नसकी बसिरहेका थिए ।
जसेलाई देखेर बुढीले सोधिन्- “कहाँ जान लागेका हौ बाबु ? कुन गाउँका हौ ? हामीलाई नदी पारि पुर्‍याईदिन्छौ की ?”
अब जसेले ठूलै दाउ हान्‍ने विचार गर्‍यो र भन्यो- “ज्योतिषीले मेरा नाउँ अनौठै राखेका छन् । ‘ज्वाईं’ मेरो नाउँ, ‘तोरी फुल्या गाउँ’ हो । मेरो घोडा थाकेको छ । एकैचोटि यसले तीन जना तार्न सक्दैन । पहिले यी नानीलाई पारि पुर्‍याउँला, अनि तपाईंलाई लिन आउँला त ।”
बूढीले विश्‍वास गरी र हुन्छ भनी । जसेले बूढीकी छोरीलाई घोडामा बसाल्यो र नदीपारि पुग्यो । यता बूढी ‘ज्वाईं’ फर्केर आउला र आफूलाई पनि नदी तारि देला भनेर धेरै बेरसम्म कुरेर बस्यो तर छट्टु ‘ज्वाईं’ बेपत्ता भइसकेको थियो ।
धेरैबेर भएपछि बल्ल बूढीको चेत खुल्यो र अलाप विलाप गरेर रुन थाली । बाटो हिड्ने मानिसहरुले बूढीलाई रुनुको कारण सोधे । बूढीले भन्‍न थाली- “ज्वाईं राँडाका छोराले मेरी छोरी लिएर गयो । कुनै धर्मात्मा भए मेरी छोरी फर्काईदेऊ ।”
मानिसहरूले बूढीलाई सम्झाए- “तिमी त कस्ती, छोरी त ज्वाईंलाई नै दिएकी हौ त । अनि ज्वाईंले छोरी लग्यो त किन रुनु ?”

यसरी छट्‍टु जसेले धन पनि कमायो, स्वास्नी पनि पायो ।

लोभको साँध (नेपाली लोक दन्त्य कथा)

एकादेशमा एउटा गाउँमा ९० वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी ! मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म बजारमा गएर तेल मागेर ल्याउँछु। अनि हामी सेल पकाएर खाउँला।” यति भनी बूढीलाई उसले चामल माग्न पठायो र आफू तेल माग्न बजारतिर गयो।

दुबैले अलि-अलि तेल र चामल मागेर ल्याए। सेल खान पाइने भयो भनेर बूढीले खुब खुशी हुँदै सेल पकाउन थाली। जम्मा पाँच वटा सेल पाकेछ।

त्यसपछि बूढोले भन्यो-“हेर बूढी तैंले मलाई मान्नैपर्छ। तँ दुइटा सेल खा, मचाहिं तीन वटा खान्छु।”

बुढीले भनी- अहँ, हुदैन, पकाउने म, त्यसो हुनाले म तीन वटा खान्छु, तिमी दुई वटा खाऊ।
बूढा-हुँदैन, मैंले रहर गरेर पकाएको म तीन वटा खान्छु, तँ दुई वटा खा।

यस्तो गर्दागर्दै दुई बूढाबूढीको झगडा भयो। सेल दुबैले खान सकेनन्। सेल सेलाउँदै गयो। कसले कति खाने भन्ने कुरो नटुङ्गिएकोले बूढाले बूढी सँधै बिहान चाँडै उठ्ने भएकोले एउटा जुक्ति सोचेर बूढीलाई भन्यो- हेर बुढी ! त्यसो भए म एउटा कुरा भन्छु सुन्। यो सेल सन्दूकमा राखेर हामी दुबैजना सुतौं। चाँडो उठ्नेले दुई वटा सेल खाने, ढिलो उठ्नेले तीन वटा खाने है त? बूढीले पनि हुन्छ भनी। त्यसपछि सेल सन्दुकमा राखेर बूढाबुढी सुते।

भोलिपल्ट बिहान दुबै बिउँझिन त बिउँझे तर उठूँ भने दुई वटा सेलको फेला पर्ने भएकोले पहिले ऊ उठ्ला र दुइटा सेल उसले खाला अनि म तीन वटा खान्छु भन्ने सोच्दासोच्दै तीन दिन तीन रात बितेपछि पनि दुइमध्ये कोही पनि उठेनन्।

गाउँले छिमेकीहरूले बूढाबूढीको दैलो नखुलेकोले बूढाबूढी मरेछन् कि क्या हो भन्ने सोचेर दैलो खोली भित्र पसेर हेरे। दुबै बूढाबूढी मरेजस्तो भएर सुतिरहेका थिए । गाउलेहरूले बूढाबूढी मरेछन् भन्ठानी दुबैलाई एकै टाँडमा बाँधी पाँच जना मलामी भई मसानमा पुर्याए। अनि चिता बनाई चितामाथि ती बूढाबूढीलाई सुताई छ्वालीको राँको बालेर पहिले बूढाको शिरमा राँको लगाए।

बूढालाई राँकोले सार्है पोल्यो। अनि ऊ “आत्थु बाबा…… म दुइटा खान्छु, तैं बूढी तीन वटा घिच्।” भन्दै जुरुक्क उठ्यो। बूढो उठेको देखी बूढी पनि हाँस्दै ‘म तीन वटा खान्छु’ भन्दै जुरमुराउँदै उठी।

पोल्न लागेका मुर्दाहरू यसरी दुई वटा खान्छु र ती वटा खान्छु भन्दै जुर्मुराउँदै उठेको देखेर अब हामी पाँचै जनालाई मसानमा मुर्दाले खाने भए भनी पाँचै जना मलामीहरूले त्यहाँबाट सुँइकुच्चा पो ठोके।

हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको श्रीसम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई दिनको ४ मुठी पीठो खटाएछन्।
छोरा जन्मँदा हर्षको आँसु खसालेको उनको आँखाबाट त्यही छोराको निष्ठुरपनले अहिले दु:ख र पीडाका आँसु बगिरहेको थियो।

एकदिन दयासिंह रीस र शोकले आफ्ना सामुन्नेका भाँडाहरु एकातिर मिल्काई थोत्रो टिनमा दु:खका बाजा बजाउँदै थियो। त्यसदिन निष्ठुरसिंह र कटुगरा दुबै घरबाट बाहिर गएका रहेछन्। घरमा निष्ठुरसिंहको छोरो ९ वर्षे बालक चलाकसिंह मात्र थियो।
बूढाले बजाएको पीडाको बाजा चलाकसिंहले सुने र अनि दयासिंहलाई बाजा बजाउनुको कारण सोधे। बुढाले भने- “हेर बाबू, म यो बाजा किन त्यसै बजाउँथें र? यो दयासिंह सुनको थालमा भात खान्थ्यो, आज उसलाई प्वाल परेको टिनको थालमा कोदोको खोले? यही दु:खले यो बाजा बजाउँदै छु। बाबू चलाकसिंह तिमी तिम्रा बाबु झैं नबन्नू।”

यो सुनेर चलाकसिंहको ह्रदय पग्लियो। सानै भएपनि उ चलाक, साहसी र अक्कली थियो। उसले बूढालाई भन्यो- “भरे हाम्रा बा घर आएपछि यसैगरी टिन बजाउनू र त्यस बखत म जे भन्छु त्यसमा हजूरले खिन्न नहुनू।”

बेलुका चलाकसिंहका बाबुआमा घर आए। बूढाले टिन बजाउन थाल्यो। चलाकसिंहले कराएर भन्यो- “ए बूढा किन टिन ठटाएको?”
बूढाले जवाफ दियो- “खान नपाएर।”
चलाकसिंहले फेरि भन्यो- “तिमीले खान नपाएर केही फरक भएन। तर त्यो टिन चाहिं नफुटाई देऊ। नत्र हाम्रा बा बूढा भएपछि हाम्रा बालाई चाहिं के मा खान दिनु !”

निष्ठुरसिंहले सबै कुरा सुनिरहेको थियो। यो सबै सुनेपछि उ सपनाबाट झल्याँस्स ब्यूँझे झैं भयो र उसले सोच्यो- “मैले बाबुलाई यही काइदाले राखें भने त मेरो छोराले पनि यही देखासिकी गरेर पछि मलाई यसै गर्नेछ।”
त्यसपछि निष्ठुरसिंहले बाबुलाई राम्रोसँग खानलाउन दिएर राख्न थाल्यो।

जिउँदो मान्छेको करामत र यमराज

एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन पर्छौ? यस्ता भुसुनालाई पनि ठेगान लाउन सक्दैनौ?”

हात्तीले जवाफ दिएछन्- “मानिसको जात मापाको ज्याद्रो पो हुन्छ त यमराज, तिमी यमलोकमा मरेको मानिससँग संगत गर्छौ अनि के थाहा पाउछौ र? कुनै दिन जिउँदो मानिसको फेला पर्‍यो भने थाहा पाउँछौ!”

यति भनी हात्ती फेरि माहुतेको डरले माहुते भएतिर गयो भने यमराज चाहिं गम खाँदै यमलोक फर्कियो।

यमलोक पुगेपछि यमराजले जिउँदो मानिस कस्तो हुँदो रहेछ त भनी जान्नेि विचारले आफ्ना दुतहरू चण्ड, अचण्ड र प्रचण्डलाई मर्त्यलोकबाट एउटा जिउँदो मानिसलाई यमलोक ल्याउन अह्राएछन्।

यमदुतहरूले एउटा सुतिरहेको मानिसलाई उसले थाहै नपाउने गरी खाटै समेत बोकेर यमलोकतिर लाँदै गरेछन्। यमराज कहाँ पुग्ने बेलामा नर्कमा बलिरहेको आगोको रापले जिउँदो मानिसको आधा निद्रा खुलेछ र आफु यमलोक आइपुगेको भन्‍ने उसलाई थाहा पनि थिएन। उसले भन्ठान्यो कि उसका तीनै छोराहरू चण्ड, अचण्ड र प्रचण्ड अनि नोकर यमे आगो ताप्न दाउरा बालेर दाउरा खेर फाल्ने काम गर्दैछन्। उसले अर्धनिद्रामै छोराहरूलाई हकारेछन्- “तिमीहरूलाई, भातमारा पाजी हो, यो आगो कसले बाल्यो, तुरुन्त निभाओ। चण्डे ए चण्डे, हैन अचण्डे र प्रचण्डे पनि कता मुण्टिएछन् बजियाहरू?”

यसरी आ-आफ्नो नामै काढेर हकारेको देख्दा यमदुतहरूको सातोपुत्लो उड्यो र उनीहरूले लुगलुग काम्दै जिउदो मानिसलाई यमराजकहाँ लगे।

ऊ बम्कँदै थियो- “ए यमे, यमे। पख्लास् भतुवा, आज तैंले चाहिं राम्रै चाख्ने” भइस्। तेरा पिडुँला नफर्काई त कहाँ छोडुँला र?”

यसरी आफूलाई पनि बेस्सरी हपारेको देखेर यमराज पनि अक्कल न बक्कस परेर बोली नै फुटाउन सकेनन्।

त्यतिन्जेालमा जिउँदो मान्छेको निद्रा पुरै खुल्यो र उसले आफूलाई यमराजको अगाडि पायो र सबै यथार्थ बुझिहाल्यो। तर उसले आफूलाई तुरुन्त सम्हाल्यो र स्थिति सम्हाल्ने उपाय सोचिहाल्यो। अनि यमराज अक्कस न बक्कि परेको मौका छोपी खाटबाट बर्लुक्कज उफ्रियो र दौडेर यमराजको सिंहासन नजिक गयो। त्यसपछि सिंहासन नजिकै रहेको यमदण्ड आफ्नो हातमा लिएर उठायो र कुर्ल्यो- “चण्डे, अचण्डे, प्रचण्डे। यो पाजी स्वाँठ यमेलाई पाता फर्काओ। यसको यत्रो हिम्मत! जिउँदो मान्छेलाई यमलोक ल्याउन लगाउने? यसका डँडाल्नुमा तिमेरु तीनैजनाले पालैपालो १००।१०० कोर्रा बर्साओ।”

सृष्टिोपालक भगवान् विष्णुको नियमअनुसार यमदण्ड विना यमराजले पनि कुनै आदेश दिन नसक्ने र हातमा यमदण्ड हुनेकै आदेश यमदुतहरूले पालन गर्नुपर्ने थियो।

यसरी एक्‍कासी आफुमाथि आपत आइपरेपछि यमराज दौडेर बैकुण्ठलोक पुगेर भगवान् विष्णुको पाउमा छाँद हालेर बिन्ति गर्न थाल्यो- “प्रभो ! मबाट गल्ती भयो। मलाई क्षमा बक्सियोस्, मलाई यो संकटबाट बचाईबक्सियोस्।”

भगवान् विष्णुले अन्तर्ध्यानबाट सबै कुरा बुझे र अनि यमराजलाई भने- “तिमीले सजायँ त पाउनै पर्ने हो। सृष्टिरको नियम मिचेर तिमीले आफ्नो कर्तव्य बिरायौ। र आफ्नो सिंहासन र यमदण्ड समेत गुमायौ । अब देख्यौ त जिउँदो मानिस कस्तो हुँदो रहेछ्? पुग्यो कि अझै जिउँदो मानिस हेर्ने रहर छ?”

यमराजले भने- “बिराएँ प्रभो, यस्तो गल्ती अब कहिल्यै गर्नेछैन।”

अनि भगवान् विष्णुले भने- “लौ भै गो। तिमीलाई यो एउटा ठूलो शिक्षा नै भो। अब आईन्दा यस्तो कुनै पनि रहर पाल्ने मुर्ख्याईं नगर र सृष्टिको नियमलाई कहिल्यै बेवास्ता नगर। एकपटकलाई म तिम्रो ईज्जत र यमलोक फिर्ता गराईदिन्छु। तर फेरि यस्तो भएमा मैले पनि केही गर्न सक्दिन। लौ यो चिठी लगेर मेरो नाम लिई त्यस जिउँदो मानिसलाई दिनू र उसँग माफी मागी उसलाई आदरपूर्वक मर्त्यलोक फर्काइदिनू। अब आईन्दा मिति नपुगी र काल नआई कुनै पनि जिउँदो मानिसलाई यमलोक ल्याउने काम नगर्नू।”

“हवस् प्रभो।” भन्दै यमराज त्यो चिठी लिएर यमलोक फर्के र जिउँदो मानिससँग माफी माग्दै उसलाई त्यो चिठी दियो। त्यस चिठीमा यमराजले बिराएकोले एकपल्टलाई भगवान् विष्णुका तर्फबाट यमराजलाई माफी दिइएको र जिउँदो मानिसलाई यमलोकको सिंहासन र यमदण्ड यमराजलाई फर्काई सृष्टिोको नियम सुचारु गर्न अह्राइएको थियो। यसप्रकार यमराजले आफ्नो सिंहासन र यमदण्ड फिर्ता पाए र उनले जिउँदो मानिसलाई सम्मानपूर्वक मर्त्यलोक पुर्यायई आउन आफ्ना दुतहरुलाई अर्हारए।”

जिउँदो मानिस पनि यो सब घटनालाई एउटा भयानक सपना ठानी आफ्ना परिवारजन आफनो वियोगमा अलाप विलाप गर्लान् भनी मर्त्यलोक फिर्ता भयो।

चतुर विद्या के हो?

विष्णु शर्मा ब्राम्हणका चलाक कान्छा छोरा यज्ञ शर्माले बनारसबाट व्याकरण, साहित्य आदि ग्रन्थ पढेर घर फर्केछन्। विष्णु शर्माले छोरालाई सोधेछन्- “के के पढेर आइस्?” यज्ञ शर्माले आफूले पढेजति सबै बयान गरे। विष्णु शर्माले छोरालाई फेरि सोधेछन्- “चतुर विद्या पढिस् त?” विचरा छोराले अक्क न बक्क” परेर जवाफ दिएछन्- “त्यो त छैन।” विष्णु शर्माले- “उसो भए पढेर आइज।” भनेछन्।

त्यसपछि यज्ञ शर्माले चतुर विद्या पढ्न हिंडे। जाँदा जाँदा बेलुका भएपछि उनी एउटा पाटीमा बास बसे। त्यहाँ दुई जना डाँकूहरू पनि बास बसेका रहेछन् र उनीहरूले यज्ञ शर्मालाई को हौ भनी सोधेछन। उनले तिनीहरू डाँकूहरू हुन् भन्ने चिनिहाले र आफू पनि डाँकू हुँ भनेछन्। तीनैजना त्यहीं बास बसे।

दुई डाँकूमध्ये एउटाले भन्यो- “भाइ हो, अब गफ गरेर रात बिताऔं।” त्यसपछि अर्को डाँकूले भन्यो- “लौ, यसो गरौं। तीनै जनाले पालैसंग कुरा गरौं। कसैको कुरा जसले होइन भन्यो उ कमारो बन्नु पर्छ।”

त्यसपछि पहिलो डाँकुले भन्यो- “हाम्रा बाबुको पालामा 12 वर्षसम्म पानी नपरेपछि बाबुले भैंसीको दुधले खेत भिजाई रोपाईं गरेका थिए रे। यो कुरा साँचो हो कि होइन?”

यज्ञ शर्माले ती डाँकूहरूले आफूलाई कमारो बनाउने दाउ गरेको बुझिसकेका थिए। त्यसैले “यो कुरो होला।” भनिदिए। त्यसपछि दोस्रो डाँकूले सुनायो- “हाम्रा बाजेले एउटा पिंडालु रोपेका थिए रे। पछि त्यो बढेर धेरै ठूलो भयो र 4 जना मान्छेले बन्चरोले दिनभर लगाएर काटेर ढाले रे। अनि त्यसको डाँठलाई ताछेर समुद्रमा पुल हालेका थिए रे। यो कुरा होला कि नहोला?” यज्ञ शर्माले फेरि “यो कुरो होला।” भनिदिए।

अब यज्ञ शर्माको पालो आयो। यी बदमास डाँकूहरूलाई कमारो बनाउनु पर्छ भन्ने् सोचेर उनले भन्नो थाले- “हाम्रा बाबुले नयाँ घर बनाएछन्। छाना छाउने दिनमा 10 जनाले छाउँदा पनि धुरी मार्न (छाना छाउन) बाँकी रहन गएछ। त्यसपछि अर्को दिन बाबुले दुई जना आफ्नै कमारा लगेछन्। उनीहरूले दिनभर छाना छाएर बेलुका सिद्धिनै लाग्दा अकस्मात आँधी आएर ती दुबैलाई उडाएर कता लगेछ कता। तिनीहरूलाई म खोज्दै आएको हुँ, ती दुबै तिमीहरू नै त होइनौ?”

दुबै डाँकूहरू फन्दामा परे। हो भने पनि होइन भने पनि उनीहरू कमारो हुने भए। आखिर आफूले गराएको वाचामा आफै परी उनीहरूले यज्ञ शर्माको कुरा हो भन्नै पर्‍यो र यज्ञ शर्माले उनीहरूलाई कमारा बनाई घर लगे।

घरमा पुगेर यज्ञ शर्माले आफ्ना बाबुलाई शुरूदेखिका सबै कुरा बताए। आफ्नो छोराको यस्तो चलाकी र बुद्धि देखेपछि विष्णु शर्माले छोरालाई भने- ‌”बाबु, जहाँ जस्तो पर्छ, त्यहाँ त्यस्तै भएर लाभ लिन सक्नु र आफूलाई अर्काको मुठीमा पर्न नदिने चलाकीलाई नै ‘चलाक विद्या’ भनिन्छ। अब तिमी पूरा पण्डित भयौ। घर गृहस्थी गरेर बस। म अब वानप्रस्थ लिन्छु।”

यति भनेर विष्णु शर्मा वनवास गए। यज्ञ शर्मा ती दुई डाँकूहरूलाई कमारा बनाई आनन्दसँग बस्‍न थाले।
Share:

चार गेडी

डाँडामाथि द्यौराली, हावा चल्यो सिरिरि
मायालुले बोलाको, बजाउँदै पिरिरि
पीपल,
माया भेटे, मनै शीतल ॥

नटेरेकै चाम्रो भो, नभेटेकै राम्रो भो
दुनियाँले नबुझ्ने, मायाप्रीति हाम्रो भो
खोलीले,
फुट्‍यो बाँध, रूखा बोलीले ॥

गोरु पनि ब्याएन, खुसी पनि ल्याएन
शान्ति कता हरायो, त्यसले टुंगो पाएन
तीरैमा,
संविधान, पर्‍यो भीरैमा ॥

देश पछि पर्दैछ, कुमतिले साँचो हो
तल-तल झर्दै छ, सुमतिको खाँचो भो
गरौं न,
मिलीजुली, भुँडी भरौं न ॥

ईतिहासले कोल्टे फेर्नेछ

साभार:- अक्षलोक (नेपाली साहित्यिक त्रैमासिक), पूर्णाङ्क-४१, २०६८ (श्रावण-आश्विन), पृष्ठ ३३-३४
[AKSHALOK, Nepali Literary Quarterly, Vol.-41, 2011 July-Sept]
Email: akshalok@gmail.com
P. O. Box No. 2905, Kathmandu
Phone: 4600691, 016216884

सिद्धीश्वरमान श्रेष्ठ

आज हामी दसैं मनाउँदैछौं
आज हामी तिहार मनाउदैछौं
आज हामी इद मनाउदैछौं
आज हामी छठ मनाउदैछौं
आज हामी प्रशस्त चाडबाड मनाउँदैछौं

तर
एकदिन अवश्य इतिहासले कोल्टे फेर्नेछ
इतिहासले कोल्टे फेर्नेछ
अनि त्यसबखत
इतिहास पढाउने गुरुहरूले
साना-साना छात्रछात्राहरूलाई
यसरी इतिहास पढाउन सुरु गर्नेछ

सुन नानीहरू हो !
उहिले उहिले हाम्रो देशमा प्रशस्त
चाडबाडहरू थिए
चाडबाडहरूमा मुख्य दसैं नै थियो

यस्तो दसैं प्रत्येक साल-
हाम्रो देशका बासिन्दाहरूले मनाउँथे
ती बासिन्दाहरूलाई दसैं भए पुग्यो
विकास उन्ननतिबारे वास्ता थिएन
डेढ दुई हप्ता यसै दसैमा अल्मलिन्थे

लेख्‍नलाई कागज खर्च गर्नुभन्दा
चङ्गा उडाउनमा कागज खर्च गर्दथे
फारोनितो गरी देश बनाउनु भन्दा
तीन दिनको एकै दिनमा खाई
पेट दुखाई अस्पताल धाउँथे

सडक-सडकमा पेटी पेटीमा सारङ्गी
बजाई बसेको देख्दादेख्दै
भए नभएको चामलमा दही रङ्ग मिसाई
सुन्दर निदार छोप्दथे
खानको लागि जौ प्रशस्त नहुँदा नहुँदै पनि
जौ रोपी जमरा सिउरन्थे ।

सुन नानीहरू हो !
उहिले उहिले हाम्रो देशमा
प्रशस्त चाडबाड मनाउँथे

यस्तै चाडबाडमा प्रत्येक दसैंले
धेरै बासिन्दालाई बसाइँ पठाउँथे
धेरै बासिन्दाहरूको जग्गा जमिन स्वाहा हुन्थे
धेरै बासिन्दाहरूलाई ऋणमा डुबाउँथे ।

सुन नानीहरू हो !
कसै-कसैका घरमा मासु भात बेसी
भई फालाफाल गर्दथे
कसै-कसैका लागि मासु भात
आकाशको तारा हुन्थे

यसरी प्रत्येक दसैंमा असमानताले जरो
गाड्थ्यो
कत्ति-कत्ति बासिन्दाहरूले हात-मुख
जोड्न नपाएको देख्दादेख्दै
यहाँ ढुङ्गाका मर्तिहरूलाई अक्षेता
आदिले पुजिन्थ्यो

यसरी हेर नानीहरू हो !
दसैंले त्यतिबेला अवनति ल्याई दिएको थियो
असमानता ल्याइदिएको थियो,
मान्यजनको आशिर्वाद भन्दा विकृति
ल्याइदिएको थियो

त्यसैले त हेर अब दसैं त चिहानमा
पुरिइसकेको छ
दसैंको पुराना मालसामानहरू हेर्छौ भने
तिमीहरूले सङ्ग्रहालय जानु पर्दछ
दसैंका पराना कुराहरू पढ्न चाहन्छौ भने
नानीहरू हो !
तिमीहरूले पस्तकालय धाउनुपर्दछ।

लौ त नानीहरू हो !
समयले पनि बिदा दियो
आजलाई यत्ति
अरू अर्को कक्षामा ।