तपाईँ कुन खालको ज्वाइँ?

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्। यिनलाई मैले भलाद्‍मी ज्वाइँ भन्ने गरेको छु। तपाईँले जेसुकै भने पनि फरक पर्दैन। मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन। जसले जे भने पनि तर यी ज्वाइँहरु मेरा नजरमा भलाद्‍मी ज्वाइँ हुन्। यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको। हुन्छ भने निजकै इज्जतको ख्याल हुन्छ। यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने। असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन्। ज्वाइँ हुन त यस्ता !

साभार:-  Mysansar, August 22nd, 2011

-चर्चित ढुङ्गेल-

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्। यिनलाई मैले भलाद्‍मी ज्वाइँ भन्ने गरेको छु। तपाईँले जेसुकै भने पनि फरक पर्दैन। मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन। जसले जे भने पनि तर यी ज्वाइँहरु मेरा नजरमा भलाद्‍मी ज्वाइँ हुन्। यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको। हुन्छ भने निजकै इज्जतको ख्याल हुन्छ। यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने। असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन्। ज्वाइँ हुन त यस्ता !

२) लिब्रिके ज्वाइँ— यी ज्वाइँहरु कस्ता हुन्छन् भने साह्रै नै सस्ता। लिब्रिक लिब्रिक ससुराली धाइरहने र साली छिन् भने तीसँग प्रेमगीत गाइरहने यिनको बानी हुन्छ। महिनाका सबैजसो दिन ससुरालीमै बिताउन चाहने यस्ता ज्वाइँहरु लाजघिन पचेका र इज्जत नबचेका हुन्छन्। यस्ता ज्वाइँहुरु यसरी ससुराली धाउँछन् कि मानौं घर चैँ ससुराली र ससुराली चैँ घर हो झैँ। यिनलाई ससुरालीमा सत्कार कम र दुत्कार बढी मिल्छ। तर पनि यिनीहरुको नजर ससुरालीतिरै हुन्छ। ससुरालीमा साली रहुञ्जेल र साँझबिहान भरिएको थाली अघिल्तिर रहुञ्जेल यिनको बास ससुरालीमै हुन्छ।

‘ज्वाइँ कहिले फिर्नुहुन्छ?’ भनेर सासुससुराले नसोधेसम्म यस्ता ज्वाइँले पिर्नसम्म पिर्नुहुन्छ। यस्ता ज्वाइँदेखि सावधान हुनु जरुरी भैसकेको छ। लिब्रिक लिब्रिक ससुराली जाने भएकाले नै मैले यस्ता ज्वाइँलाई लिब्रिके भनेको हुँ। तपाईँ जेसुकै भन्नुहोस्।

३) घर ज्वाइँ— ससुरालीघरमा केही साल वा सदाबहार रुपमा बस्ने ज्वाइँलाई घरज्वाइँ भनिन्छ। छोराबिहीन ससुरालीमा यस्ता ज्वाइँहरुले आश्रय पाउँछन्। कतिपयले धनको लोभमा घरज्वाइँ बस्ने गरेको पाइन्छ भने कतिले बाध्यताले। तर घरज्वाइँ बस्नेको हविगत धोबीको कुकुरको झैँ भएको देख्छु म त। ‘ज्वाइँ ! पाहुनालाई पिरा दिनु त।’ भनेर सासु वा जेठीसासुले नोकरको ब्यवहार गरेको देखेर ज्वाइँ कहिल्यै छोरो हुँदैन, छेपारा बढेर गोहोरो हुँदैन भन्ने कुरो स्पष्ट हुन्छ। कति घरज्वाइँ होलान् जसले छोराको स्थान पाएका होलान्? यो धर्तीमा कुन ज्वाइँले स्वास्नीका, उस्तै परे सासुका लुगा नधोको होस्। जे होस्। घरज्वाइँ बस्ने सयकडा पन्चानब्वे प्रतिशतको हालत भिजेको मुसो र डल्लाले थिचेको उम्रिँदै गरेको मकैको टुसो जस्तै होला। सासु वा ससुरा मर्लान् र सम्पत्तिको मालिक बनुँला भनेर यस्ता ज्वाइँको जुनी बितेको देखेको छु। अरुको के कुरा गर्नु। मेरै कुरो गर्छु।

नेपालमा हुँदा नभएको घरज्वाइँ कतारमा भइएको छ। तानेको भिसामा कतार पालेको म यहाँ आइपुग्दा पो थाहा पाएँ ससुराली आएको कुरो। ससुराबाहुन यतै र सालो केटो पनि यतै भएपछि म एयरपोर्टबाट नेपालमा मन्त्री चढ्ने पजेरोमा के चढेको थेँ मभित्रको अँधेरो उज्यालोमा परिणत भएहाल्यो र मैले सेलिया ससुरालीको आँगन टेकिहालेँ। केही हप्ताहरु किचनमा खाना खान बाहेक नपसी बिते। जसै कतार टेकेका दिनहरु लम्बिँदै गए र म पनि घरज्वाइँ हुँदै गइराछु। अब त्यो दिन नजिक आउँदैछ जब हामी सालाभेना र ससुराज्वाइँबीचका मर्यादाहरु नांगिनेछन्। त्यसो त केही महान् मान्छेहरुले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरु धेरैपल्ट भत्काइ नै सके। तर पनि खुम्चिने क्रम जारी छ मेरो। चाहनालाई भाँचेर बाँच्नुको पीडावोध घरज्वाइँ हुनेहरुलाई बढी हुन्छ सायद ! म त बाध्यताले भइहालेँ। तपाईँ चैँ घरज्वाइँ नहुनुहोला। जय होस् !

‘ए, नारान्!’

तर, यी उडन्ते शब्दार्थसँग मेरो पटक्कै सहमती छैन। किनभने ‘NRNA’ को बिधान अनुसार, ’’NRN’’ भनेको Non Residential Nepali हो जो नेपाल बाहिर रहेर पनि ‘नेपाल र नेपाली’कै हितमा सोचि रहेको हुन्छ। र उ, कम्तिमा १८३ दिन नेपाल बाहिर बसेको हुनुपर्छ। यस बिधानलाई आधार मान्ने हो भने ‘एनआरएन’को प्राचिन इतिहासलाई पनि बिश्लेषण गर्नु जरुरी छ।

-मनोज गजुरेल

साभार:-  Mysansar, October 21st, 2011

‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No Reading Nepali’ नै ‘NRN’ हो– जो बिदेश जानासाथ नेपाली ‘बिर्सिएको’ अभिनय गर्दछन्! केहीलाई लाग्दो हो– Now, Rocking Nepal को ‘छोटकरी’ रुप ’’NRN’’ हो। र केहीलाई लाग्दो हो, ‘NRN’ को ‘लामकरी’ रुप Now, Returning Nepal हो!

तर, यी उडन्ते शब्दार्थसँग मेरो पटक्कै सहमती छैन। किनभने ‘NRNA’ को बिधान अनुसार, ’’NRN’’ भनेको Non Residential Nepali हो जो नेपाल बाहिर रहेर पनि ‘नेपाल र नेपाली’कै हितमा सोचि रहेको हुन्छ। र उ, कम्तिमा १८३ दिन नेपाल बाहिर बसेको हुनुपर्छ। यस बिधानलाई आधार मान्ने हो भने ‘एनआरएन’को प्राचिन इतिहासलाई पनि बिश्लेषण गर्नु जरुरी छ।

तपाईं अनुमान लगाउन सक्नुहुन्छ, एनआरएन अभियानको शुरुवात कहिले भयो? ऐतिहासिक रुपमा जनकपुत्री ‘सीताजी’लाई प्रथम महिला ‘NRN’ मान्न सकिन्छ। पहिलो पटक जनकपुरबाट भारत हुँदै श्रीलंका पुगेकी उनी थुप्रै महिना त्यहाँ बसिन्। कैदी भएर नै सही, १८३ दिनभन्दा बढि बिदेश बसोबास गर्ने उनलाई पहिलो ‘एनआरएन शहीद’ पनि मान्न सकिन्छ। किनकी, लंकाको शंकाकै आधारमा उनलाई ‘अग्नी परिक्षा’को नाममा ‘आत्महत्या’ गर्न बाध्य पारिएको थियो।

त्यसैगरी, कलाकार ‘अरनिको’ प्रथम ‘पुरुष एनआरएन’ हुन्। ‘कलाकारिता’ देखाउन भनेर चाइना गएका उनि, कहिल्यै नेपाल फर्किएनन्। यस अर्थमा अरनिको Never Returning Nepali हुन्, जसलाई हामी राष्ट्रको ‘विभुती’को रुपमा सम्मान गर्दछौं। चिनमा स्थायी बसोबास गर्न पुगेका अरनिको ‘राष्टि्रय बिभुती’ भएझैं बिभिन्न देशको ‘सिटिजनसीप’ लिएका थुप्रै नेपाली कलाकारलाई ‘अन्तराष्टि्य बिभूती’ घोषणा पनि गर्न सकिन्छ– यो मेरो नितान्त ब्यक्तिगत धारणा हो।

त्यसो त महात्मा गौतमबुद्धलाई पनि ‘मानार्थ एनआरएन’ मान्न सकिन्छ। नेपालमा जन्मिएर भारतहुँदै वर्मा, मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायत थुप्रै देशहरुमा समय बिताएकाले– उहाँमा एनआरएनको ‘ब्राण्ड एम्बेसडर’ बन्ने योग्यता पनि छ। तर, महात्मा बुद्धले यो प्रश्ताबलाई स्वीकार गर्ने संभावना ज्यादै न्यून छ, किनभने ‘नागरिकता’भन्दा माथी उठेर ‘मानवता’को प्रचार गर्ने महात्मालाई ‘डबल नागरिकता’को नारा स्वीकार गर्न निकै अप्ठ्यारो पर्दछ।

भृकुटी, सीता, अरनिकोजस्ता थुप्रै ‘प्राचिन एनआरएन’हरुलाई राष्ट्र्ले सम्मान गरको छ, गर्नै पर्छ। तर, केही कुराको बिश्लेषण हुनु जरुरी छ। राष्ट्र्कवि माधव प्रसाद घिमिरेज्यूको शब्दमा ‘सीताले सारा भिजाईन, दक्षिण लंका भारत।’ उनले लंका, भारत भिजाएर हाम्रो देशको नामलाई ‘शितलता’ त दिइन् तर ‘राष्ट्र् बिकास’मा ‘उर्जा थप्ने काम कहाँ भयो? ‘भृकुटी तारा उदाइन् र उत्तर चीन तिब्बत।’ चिन र तिब्बतमा भृकुटीले माइतीको ‘नाम’ त चम्काईन्’ तर माइतीको ‘घर’ रङ्ग्याउन कहाँ पहल गरिन्? ‘बुद्धले यहीं पाएथे, ज्ञानको पहिलो मुहान।’ कुरा एकदम सही हो, तर त्यतिबेलाका सत्ताधारीले त्यो ‘बुद्धत्व’लाई स्वदेशमा टिक्न दिएनन्, बाध्य भएर बुद्धले बिदेश पलायन हुनु पर्यो!

यस ऐतिहासिकताका आधारमा, नेपालको नाम चम्काउन ‘एनआरएन’हरुको ठूलो योगदान छ। तर, ‘एनआरएन’हरुलाई ‘ए,नारान!’ मान्दै धुपबात्ती बाल्नु जरुरी छैन, किनभने उनीहरु गैर आवासीय भए पनि ‘नेपाली’ नै हुन्, ‘नारायण भगवान’ हैनन्। ‘नेपाली’ले नेपालको लागि केही गरेछन् भने ‘एनआरएन जिन्दाबाद’ भनौंला, गरेनछन् भने ‘गफै त रहेछ सम्धी’ भन्ने बुझौंला!

बुझ्नै पर्ने कुरो के हो भने, ‘कुरा’ले देशको ‘नाम’ चम्किएला, देशको ‘मुहार’ उज्यालो हुन सक्दैन। मुहार चम्काउन ‘काम’तिर लम्किनु पर्दछ। काम गर्ने भनेको त्यसैले हो– जो जहाँ बसे पनि मन र मष्तिष्कमा ‘नेपाल’ बोकिरहेको हुन्छ।

मागी मागी छोराऽऽऽ बे

अर्को कुरा, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो। तर प्याट्रोल नि हामीकाँ बन्दैन। प्याट्रोल जस्तै पानी त छ नि। दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ। तर माल पा’र चाल पा’ पो हाम्रा नेताहरुले। लौ है, कुरा भाँडिन थाल्यो। सँविधान बनाउन भाँडिया जस्तो। जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ। त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग। त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे। जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन्। तर तिनलाईपनि प्याट्रोल ….. …. ….. ….. ….. गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ। अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे। तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ। जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे। व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ….

 साभार:- Mysansar, May 1st, 2012

-बासु श्रेष्ठ-

शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि। ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि। दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे। अनि त्यो पनि मागी मागी। अनि फेरी त्योपनि आफ्नो बे हो र ? छोराको बे। यसैले मैले भनेको हुँ ‘स्वाँग रचेर ढ्वाँग फुक्नु।’

हुन त हामी नेपालीहरु छोराको बेकोलागीमात्र काँ स्वाँग पार्छौं र ? दिव्य दृष्टिले हेर्नुभयो भने उत्तर देखि दख्खिन, पूर्वदेखि पश्चिम नेपालका हामी मनुवाहरुलाई यस्तै यस्तै रहर लागेको हुन्छ। सरकारमा बस्ने हुन् कि सडकमा बस्ने हुन्, महलमा बस्ने हुन् कि सार्वजनिक हलमा बस्ने हुन् सबैले यस्तै काँचो रहर पालेका छन्।

नपत्याए अहिले ग्यासकै कुरा गरौँ। यो ग्यास भन्ने जिनिस न हामीकाँ बन्छ, न पाईन्छ। तर सोख गर्ने नामाँ हाम्ले ग्यास चुलो जहाजाँ हालेर विदेशबाट शान दे’र मगाउँछौँ, अनि ग्यास चैँ काधाँ बोकेर भित्र्याउँछौँ। यतिन्जेल त ठिकै छ रे लौ। तर जुन दिन ‘साहुकाँ ग्यास सिद्ध्यो’ भन्ने हल्ला चल्छ त्याँदेखि सबैको कन्त विजोग भा’को मैले देख्या छुँ। रित्तो ग्यासको सिलिण्डर बोकेर यो पसल, त्यो पसल गर्दा कम्ता गारो हुन्न। बल्ल बल्ल पाइहालेपनि राउ जस्तो साउले भन्या दराँ लिनुपर्ने हुन्छ। नलेर के गर्ने, भोकै बस्नु भे’न, तर खल्तीको क्यास चैँ महँगो ग्यासको नाममा झ्याम। अब, यै ग्यास हाम्रै नेपालाँ ठ्वास्स पाईदे’को भे’ कति सजिलो हुन्थ्यो। आफ्नो माल, आफ्नै चाल हुन्थ्यो। आफ्नै मादल, आफ्नै ताल हुन्थ्यो। अनि राष्ट्रको क्यास भनौँ तपाई हाम्रो क्यास अहिल्या̕ ठिटाहरु विदेशीएका झैँ विदेशीने त थिएन। याँ त मागी मागी छोरा बे। तर तपाई भन्नु होला नि ‘ति ठिटा त एकदिन फर्किहाल्छन् नि।’ तर म के भन्छु भने ‘तिनमा भ’को करेण्ट अ‍ैले देशमा चलाउन पा’ पो काम लाग्छ त। ति आउने बेलाँ चाउरेर आउँछन्। हात पाखुराका मासु झोल्लिइ सक्या हुन्छ। त्यतिखेर के काम। रिटायर्ड लाईफ पो विताउँछन् त।’ त्यसकारण तिनमा भ’को करेण्ट र ग्यासमा हालेको पैसा अहिले बाहिर गयो गयो, मरे नि फर्कन्न। अनि भेन मागी मागी छोरा बे ?

अर्को कुरा, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो। तर प्याट्रोल नि हामीकाँ बन्दैन। प्याट्रोल जस्तै पानी त छ नि। दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ। तर माल पा’र चाल पा’ पो हाम्रा नेताहरुले। लौ है, कुरा भाँडिन थाल्यो। सँविधान बनाउन भाँडिया जस्तो। जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ। त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग। त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे। जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन्। तर तिनलाईपनि प्याट्रोल नभै हुन्न। सदा सर्वदा, बाह्रै महिना, बाह्रै काल गण्डकि कोशी बग्या झै प्याट्रोल नि सललल बगे पो सलाई चढे नि जिप चढे नि मज्जा आउँथ्यो। तर ह्याँ पनि मागी मागी छोरा बे। जुनदिन प्याट्रोल भन्ने अमृत सकेको खबर चल्छ, अनि ति प्याट्रोल वाहनलाई चढेर, घचेटेर, घिसारेर विरामीलाई वैद्य वाकाँ लग्या जस्तो अमृत ख्वाउन लैजानु पर्छ। अनि लामको लामो लर्को देखिन्छ। यसमा अर्को थरी पनि मिसिएको हुन्छ भटभटे। यो भट्भटे नभा त घरै छैन। जसरी अहिले नेपालाँ कुनै पनि परिवारमा विदेश नजाने घरै छैन त्यसै गरि धेरैले घराँ भटभटे पाल्या हुन्छन्। जे भे नि यि सब मोटरकार, भटभटेका रहर हुने हाम्लाई प्याट्रोलको चटारोले जतिसुकै पेलेपनि हाम्ले यो रहर छोडेका छैनौ। अनि भेन मागी मागी छोरा’ बे ? पितिक्क बिरालोको मूत झैँ अलिकति प्याट्रोल जर्किनमा हालेर घर आउँदा उसले नाक घिरौँला भन्दा नि ठुलो बनाएको हुन्छ मानौँ उ सँसारलाई पछारेर आ’को छ। एकछिन अघिसम्म लाईनमा कतिचोटि पछारियो त्यसको चैँ बाल मतलब छैन।

त्यसो त ग्यासकोमात्रै के कुरा गरम् र। अब हाम्रा बाउरामले गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ। अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे। तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ। जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे। व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ….ग झुण्डेर मान्छेहरु आउजाउ गरिराख्या छन्। त्यै पैसाले त्याँ पुल बनाई दे कति जाति हुन्थ्यो। नभे, कति स्कूले बच्चाहरु नाममात्रको स्कूलाँ बाहिर चौराँ बसेर पढ्नु परिराख्या छ, तिनलाई त्यै चैने स्कूल बनाई दे’ हुन्थ्यो। तर मागी मागी छोरा बे गर्ने हाम्रो बानी भा’कोले त्यतातिर के बुद्धि जान्थ्यो र ? उसमाथी यै स्तम्भ रत्नपार्काँ राख्ने भनेर माकुनेले उद्घाटन गर्दा ‘पेरीसको आईफल टावर जस्तै बनाउ है’ भनेर आदेश दि बक्स‘थ्यो रे। म त्याँ भैद्या भे ‘ईस् खा.. पैसा नि पेरीसबाट आउँछ कि’ भनेर सोध्ने थेँ। फेरी घरमा खानलाई जाईफल छैन आईफलको नक्कल गर्नुपर्ने। अनि त भनेको नि मागी मागी छोरा बे।

यै बेलाँ मैले प्रपुले सगरमाथा चढ्ने भनेर हिन्या खबर पनि सुनेँ। बाउरामबाट दुई करोड फुत्काई सक्या ‘थ्यो। बाउरामलाई नि के ‘थ्यो र? आफ्नो जाने होइन। यामीको जाने होईन। दिएछन् ख्वात्तै ‘लाउ, बाउ लाउ’ भन्दै। नदिए बाउको बाउबाट खप्की सुन्नु पर्ने ‘थ्यो क्यारे। के गर्नु, तपाई हामीले कर बलले तिरेको करको पैसा उसले रहरै रहरमा झण्डै उडाई देको थियो। त्यो त धन्न नेपालीको एकले अर्काको खुट्टा तान्ने बानी भ’को भे’र सब चिच्याएर, कराएर पैसा फिर्ता दिनुपर्यो विचराले। सर्वहारा वर्गकोलागी जिउ ज्यान फालेर लागेका बाउको त्यस्तो छोराको चाला देखेर मन उदेकमात्र होईन झण्डै हुलुक्क नि भाथ्यो मेरो। सरकारसँग लेर, बरु उल्टो सरकारलाई राजस्व नै नतिरी सगरमाथा चढ्न हिँडेका प्रपुको पारापनि मागी मागी छोरा बे भन्या झैँ भाथ्यो। बरु त्यै पैसाले सर्वहारा वर्गलाई यसो बाँड्या भे कति आशिक लाग्ने थ्यो नाई। तर के गर्नु र, बुद्धिमा बिर्को लागेपछि मागी मागी भे नि सगरमाथा चढनै पर्ने। आखिराँ नाकाँ ठोसो बोकेर फर्केछन्। भको नाक नि सिद्ध्याएर। हुन त नाकै भन्न लायकको नाक त काँ थ्यो र ? हेर्दा फुलौरा टाँस्या जस्तो।

तपाईपनि मागी मागी छोरा बे कत्तिको गर्नुहुन्छ कोनी। गर्ने भे आफ्नो बे गर्नु मागी मागी, चाहिए म नि हाल्दिउँला यसो तपाईको ट्वाकाँ ट्याँगर्याँग एक दुई सिक्का खसालेर। तर मागी मागी छोरा बे चैँ कत्ति नगर्नुस है। सुहाउँदैन के, पटक्कै सुहाउँदैन।

अनलाइन लभ

साभार:- mysansar, February 4th, 2012

-जनकराज भट्ट

– “कसको हो ?”

“कहाँबाट आयो ?”

“कोसँग डेटिङ थियो ?”

एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले झन् जटिल ‘केस’ बनाइदिएको थियो। पहिले त उसले हाँसेरै उडाउन खोज्यो। त्यसपछि रिसाएर पन्छाउने कोशिश गर्‍यो। तर अहँ, सम्झाउन सकेन। काठमान्डुमा माइक्रो नामको डब्बा चढेर हिंड्नेको जिउमा अर्काको ‘बिग’ नै झरेर अड्के त थाहा हुन्न, कपाल कहाँबाट आयो भन्नु अब। दुई चार दिनलाई निहुँ खोज्ने मेलो पुग्यो, उसले सोच्यो।

आज घरमा भात खान नपाउने छाँट देखियो। यसैगरी साना झगडाले कति जागिरेहरु भात नचेपी अफिस जाँदा हुन्, भोकै गए नि के फरक पर्छ र, टन्न हुने गरी हाकिमको उपदेश र गाली त फ्रीमा खान पाइहालिन्छ नि। ऊ निरुत्तर फुत्त घरबाट बाहिर निस्क्यो अफिस जान र माइक्रोबस चढ्ने ठाउँमा उभियो अल्छि मानेर आङ तन्काउँदै। बिहानको घाम लागेर मौसम न्यानो थियो। दुई वटा माइक्रो आइसक्यो, चढ्न सकिने होइन। काठमान्डुमा गुड्ने यी स्याना कदका मोटर साह्रै लचकदार हुन्छन्, जति पनि मान्छे अटाउने। तेस्रो माइक्रोमा ऊ बल्जफ्ती झुन्डियो र ढोकानिर ढाड कुप्र्याएर उभियो।

“ओ दाइ, खुट्टा सिधा गर्नु त!” खलासी चिच्यायो। यो खलासी भन्ने जिनिस यस्तै हुन्छ, ढाड बाङ्गिएको देख्दैन, खुट्टा सिधा देख्छ। बनाउने कम्पनीले पनि नसोचेको संख्यामा मान्छे कोचेर माइक्रो घस्रिन थाल्यो। अलिक अगाडि गएपछि एक जना मान्छे झर्‍यो। अब बल्ल एक छिन कुप्रिएको ढाड सिधा पार्दा ठीक्क भैगो। अनि दाँयापट्टी हेर्न भ्यायो। बिहान बिहानै बडी स्प्रे हर्र बास्ना आयो। बिहानै के सारो नक्कल पार्न सकेका, उसले हेर्दै नहेरी सोच्यो।

“ए, तिमी पो!?!? ला सरप्राइज प्लान गरेथेँ मैले!” ऊ छक्क पर्‍यो, सबैभन्दा ठूलो सरप्राइज त उसले उनलाई चिनेकै छैन, त्यसमाथि पनि के सरप्राइज भन्छिन् यिनी।

“के सरप्राइज र?” उसका मुखबाट बल्जफ्ती निस्के।

“म हिजै मात्र काठमान्डु ल्यान्ड गरेको, भर्जिनियाबाट। तिम्लाई च्याटमा नभनी आएर सरप्राइज दिम् भनेको, तिम्ले देखिहाल्यौ। मलाई देख्दा पनि तिमी चाँही कस्तो कोल्ड के? खुसी छैनौँ है ?!?”

ए हत्ते, अब चिन्दै नचिनेको मान्छेसँग हट कसरी हुनु त ए कोल्ड नभएर। ह्या, तपाईंलाई म चिन्दिन भन्देर बाटो लागुँ जस्तो लागेको थ्यो उसलाई। तर भनेन, चिनेको साथी पो हो कि भनेर। अम्रिका गएसि मान्छे फेरिन्छ, न सानोमा स्कूलकलेजतिर सँगै पढ्ने कुनै रुन्ची भुन्टी हो कि। हेरुम् न के भन्दिरैछे, मुड फ्रेस गरुम् अफिस पुग्नुअघि- उसले सोच्यो।

“अनि भनेर आउनु पर्थ्यो नि त, म एअरपोर्ट लिन आउँथे नि” उसले सहज हुने प्रयास गर्‍यो।

“ठीकै छ, फ्लाइट लेट थ्यो, त्यही भएर! सुनाऊ न। तिमी अझै पनि नचिनेको मान्छेजस्तो पो बोल्छौ त। म चाँही तिमी भनेर वहाँदेखि आएँ, के भो क्या ? खुशी छैनौ तिमी ? कम अन, गिभ मि अ हग स्विट्स!”

ए आपत, उस्लाई फसाद पर्‍यो। गाडीमा वरीपरी बस्नेहरु ट्वाल्ल परेर उसलाई हेरिरहेका थिए। न गाडीमा सबैको अगाडि “हग” भनेर अर्काकी गर्लफ्रेन्डलाई अङ्गालो हाल्नु, कोही चिनेकाले घरमा खबर पुर्‍याइदियो भने त बिहान भातमात्रै भेटिएको थिएन, साँझ त बासै पाइन्न। उसले सोच्दै थियो, ऊ फेरि चिच्याई।

“आरन्ट यु कम्फर्टेबल विथ मी, टेल मि इफ यु ह्याभ सेकेन्ड थट्स!” उसले यसो विचार गर्‍यो, गाडीमा कोही चिनेको मान्छे रैछ भने बिजोग हुन्छ। किनकी यो त चिच्याउन छोड्दिन। उसलाई एक मन त सबै कुरा भनेर “भाँड मे जा” भन्दिम् जस्तो लागेको थ्यो, तैपनि एक्छिन रमिता हेर्ने लालसाले उसले भन्यो “काल्म डाउन, कहाँ यति मान्छेको अगाडि हग गर्नु त अनि? लेट्स गेट अफ एन्ड गेट इन्टु अ रेस्टुरेन्ट, ह्याभ मच् टु टक !” “यु आर बिहेभिङ स्ट्रेन्ज, ओके लेट्स अफ!” उसले भाडा तिर्‍यो, “कार्ड छ” भन्दै। अनि मान्छेहरुलाई पन्छाउँदै उनीहरु गाडीबाट उत्रे। * * * * * * * *

छेवैमा रहेको क्वालिटी रेस्टुरेन्टमा छिर्दा उसले थाहा पायो, केटी मोडर्न ड्रेसमा रैछे, अरुले ट्वाँ परेर हेर्दैथे। केटीले उस्लाई अङ्गालो हाली “आइ मिस्ड यू सो मच्!” भनेर।

उसले धेरै समयपछि परस्त्रीसँग अङ्गालो मारेको, छुट्टै आनन्द अनुभव भयो उसलाई। तर मान्छेहरुले हेरिराखेको देखेर उसले उनलाई छुट्ट्यायो “पिपल आर स्टिएरिङ्ग एट अस” भन्दै।

“यु युज्ड टु बि रोमान्टिक, बट यु ह्याभ टर्न्ड कोल्ड!” उसँग उत्तर थिएन । मेरी जस्ती बूढीको श्रीमान् भाको भए तँ नि कोल्ड हुन्थिस्। उसले मनमनै सोच्यो। “अनि कहाँ ठाउँ न कुठाउ रोमान्टिक हुनु त ?” उस्ले अझै सहज हुने कोशिश गर्‍यो। “अनि मलाई के ल्याइदियौ त ?”

“म आएँ त, अरु के चाहियो?” उनको प्रतिप्रश्नमा लाडेपना थियो । उस्ले सोच्यो, कत्ति न आफूलाई सेलेना गोमेज ठान्छे कि क्या हो ? “त्यो त हो, अनि अरु सुनाऊ न कस्तो चल्दैछ।” उसको मुखबाट फुत्किहाले, ज्या के भनें भन्ठान्दै।

“तिमी किन आज फर्मल भैराछौ क्या ? यु ह्याभेन्ट किस्ड मि टिल नाउ!” ऊ फेरि पहिले कै च्यानलमा फर्की। उस्लाई आपत, नचिनेकीलाई किसै त के गरिहाल्नु। “एम स्टिल स्टन्न्ड बाइ द वे!” उस्ले कुरा अन्तै मोड्ने प्रयास गर्‍यो। उनले एक झोकमा दुईवटा टुबोर्ग बियर, एउटा बफ चिल्ली र मम अर्डर गरिन, घराँ बुढीले स्वस्थानीको ब्रत बस्ने भएर चिकेन पनि खान दिन्न, ह्याँ यल्लाई ब्यानब्यानै बियर र राँगा मासु चाहिने।

“तिमी धेरै सोच्ने भएछौ, केही समस्या छ र?” उनले सोधिन्। उसलाई आपत। समस्यै समस्या छ, तँलाई चिनेको छैन, किचेनमा ग्याँस छैन, बाइकमा पेट्रोल नभएर माइक्रोमा झुन्डेर अफिस जानुपर्छ,घराँ बुढी रिसाएर बम छे, अफिसाँ हाकिमले रातो लगाइसक्यो होला हाजिर कापीमा, यो भन्दा के समस्या हुनु भन्दिम जस्तो लागेको थ्यो उसलाई। उल्ले यत्ति भन्न भ्यायो “तिमी साह्रै राम्री भैछौ।” यी शब्द कहाँबाट निस्के उसलाई पत्तो छैन। राम्री भन्दिम् जस्तो लागेको अलिक बढी नै भनिएछ कि क्या हो ? उस्ले सोच्यो। उसको हावा तिरले काम गर्‍यो। ऊ मुसुक्क मुस्काई।

अर्काकी गर्लफ्रेन्ड भए नि राम्री छे है। उल्ले अप्ठेरो मान्दै बियर तन्कायो। चिसो बियरले घाँटी भिजायो। पेट भोकले रनन थ्यो, आज लाग्ने भो खाली पेटमा उस्ले सोच्यो। बफ चिल्ली आइपुग्यो, उसले टोक्न मात्र आँटेको थ्यो, उनले भनिन्, “अनि भन तिम्री श्रीमतीको खबर के छ नि ?” ऊ झसङ्ग भयो । यल्लाई मेरो श्रीमती छ भन्ने कसरी थाहा भो, लौन जासुस पो हो कि क्या हो श्रीमतिले पठाको, हो रेछ भने आज खत्तम भन्ने सोच्दै उसले भन्यो “ठिकै छे किन र?”

“अस्ति मैले तिमीसँग स्काइपमा कुरा गर्दा मेरा बुढाले डाउट हानेका थे नि त, अनि मैले तिमी म्यारिड हो भन्दें।” उनले बफ चिल्लीको छोक्रा अड्केको दाँत फिस्स देखाइन्, उसलाई बसिनसक्नु भो। ए बाबा, अब यसको बूढो कहाँबाट निस्क्यो फेरि? हे प्रभु बचाउ मलाई, उसले। जुरुक्क उठेर यसले “मै तेरी बच्चेकी माँ बन्ने वाली हुँ” टाइपको डाइलग दियो भने ? यल्ले त के बेर र। लौ खत्तम !

“मैले अनलाइन चिनेकोमध्ये त सबसे हेन्सम तिमी नै लाग्छ के मलाई त। आँखा राम्रा छन तिम्रा।” उनी उता के-के फलाक्दै थिइन्, यता उसका दिमाग तिरिमिरी भए। अफिसाँ फेसबुक ब्लक गर्‍या १ वर्ष भो। घराँ बत्ती आए पो नेट चलाऊनु, मोबाइल घर पुगेसी केटाकेटीले गेम खेलेर दिक्क लाउँछन्। होइन, आँखासमेत हेर्ने गरी कहाँबाट चिनी क्या यल्ले मलाई। फेरि झल्याँस्स भो, ज्या है मै पो अर्काकी गर्लफ्रेन्डसँग आको त गाँठे।

“ए, अनि तिमी एक्लै आको ? तिम्रो श्रीमान् खोइ त ?” उसले अलिक बिषयमा प्रवेश गर्न खोज्यो। “हरे तिमीले बिर्सेको ? ऊ कहाँ मेरो अथोराइज्ड् हस्बेन्ड हो त । हामी त लिभ इनमा हो नि। उता गाको बेलामा ऊ हुन्छ यता तिमी। आइ एम कम्फर्टेबल विथ बोथ अफ यु गाइज। आइ वान्ट टु बि अ फ्री बर्ड।” उता उनले जानेको जति अङ्ग्रेजी बोलेर सकिन्, यता यस्को हंसले ठाउँ छोड्यो। बियरको नशा त गायब। अब कसरी भाग्ने, यल्ले घरमा आउने या फोन गर्ने या पछि लागी भने त मेरी बुढीले पुलिस लाउँछे। उसलाई एउटा जुक्ति फुर्‍यो। “एम गोइङ रेस्टरुम है, प्लिज क्यारी अन” भनेर ऊ निस्क्यो र ट्वाइलेट्को पछाडिपट्टिको भागबाट बरान्डा हुँदै सडकमा हाम्फाल्यो।

बाहिर निस्केर उसले एउटा सूर्य चुरोट सल्कायो र घर जाने निर्णय गर्‍यो। धन्न अनलाइन पुस्ता, धन्न लभ। चिन्नु न जान्नुको मान्छेसँग कम्फर्टेबल, हरे शिव सोच्दै घर आइपुग्यो। बिहान कोटमा रौँ भेट्दा उफ्रिने स्वास्नीले जासुस बनाएर पठाएकी रैछे भने त आज दह्रो भेटिन्छ भन्ठान्दै उस्ले डोरबेल थिच्यो। “अलिक तान्नु न ढोका खुल्लै छ, किन तपाईं चाँडै आउनुभा? सञ्चै त छ?” भन्दै उसकी बुढी निधार छाम्न आइपुगी। “एक्कासी यो खुशी किन नि ? बिहान त मलाई झन्डै खाउँला झै थियो त अनुहार?” उसले सोध्यो। “ग्याँस पाइयो नि त, अब एक महिनालाई आनन्द, एक महिनामा त आउला नि है।” बुढी दङ्ग छे, उसलाई छुट्ट्याउन गाह्रो भो, बुढा घर आएर भन्दा ग्यास पाएर बुढीहरु खुशी हुने जमाना आएछ।

उसले मनमनै सोच्यो, “यस्ता कुलङ्गार देशमा बसेर पनि अझै आसाबादी हुनु पागलपन हो। तँ रिसाएकी छैनस् भन्ने थाहा भाको भए त त्यो बियर सकेर आउँथे नि थुइक्क ।” अनि मुस्कायो। 🙂

[जनकको आफ्नै ब्लग जनक एप्रोचमा पहिलो पटक प्रकाशित]

सम्झौता

साभार:- (रुपरेखा, पूर्णाङ्क २१८, २०३६ असारबाट) 

-विश्वम्भर चन्चल-

एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।

के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।

उनको यस भनाईमा मेरो पौरुषमाथि एउटा हाँक झल्कन्थ्यो। उनलाई छोरो पाउने गराइदिन मलाई कुनै गाह्रो त थिएन तर उनले मसँग यस्ता कुरा त्यतिको आँट गर्नुमा मेरो मनमा शंका उत्पन्न हुनु पनि स्वाभाविकै नै थियो। मैले सोधेँ, तिमीमा किन यो चाहना भयो ? फेरि……तिम्रो र मेरो बीचमा यस्तो काम हुनु समाजमा के मान्य होला ?

मेरो कुराले उनी झन् हाँसिन्। भनिन्, तिमी काँतर भयौ। समाजको मान्यतालाई आड दिएर आफ्नो काँतरपना लुकाउन खोज्छौ। कि तिम्रो पौरुष पनि मरिसकेको छ ? अथवा तिम्रो वीर्य नै क्षीण बनिसकेको छ ? तिमी आफूलाई नै ममा छोरो पाउने गराइदिने विश्वास छैन भने भैगो तिमी पनि नपुंसक बनिसकेछौ। होइन भने सुत मसँग र मेरो छोराको बाबु बन।

मलाई बाबु बन्नुमा कुनै रहर थिएन। किनभने मेरा आफ्नै बगाल छोराहरु जन्मिसकेका थिए। मेरी स्वास्नीको भर्खरको यौवन पनि बूढ्यौतिमा खुम्चिसकेको थियो। प्रत्येक पल्ट छोरो जन्मँदा स्वास्नी भन्थी, परिवार नियोजन गर्नोस्। म भन्थेँ, हामीलाई एउटा छोरीको खाँचो छ। पख तिमीले एउटी छोरी पाएपछि या तिमीले या त मैले नै नियोजन गरुँला। तर हामी दुई केवल छोराकै प्रयोजनका लागि मात्र भयौँ। हाम्रो बीचमा छोरीको आशाले नियोजन भने कहिल्यै हुन सकेन।

यही कुरा मैले उनलाई सुनाउँदा उनले भनिन्, तिमीलाई जसरी एउटी छोरी पाउने इच्छा छ उसरी नै मलाई एउटा छोरो पाउने इच्छा छ। छोरी, तिमी केवल व्यक्तिगत इच्छास्वरुप पाउने चाहन्छौ, छोरीको बालसुलभ क्रिडाको अनुभव गर्न खोज्छौ। म सामाजिक मान्यता र करले एउटा छोरा पाउन चाहन्छु।

किन, आजको जमानामा छोरी र छोरामा के भिन्नता ? छोरी पनि त छोरा जस्तै शिक्षित, बुद्धिजीवी र ठूला ओहोदामा पुग्न सक्छन् भने तिमीमा किन सामाजिक मान्यता नहुनु ? किन छोरो नै पाउने रहर हुनु ? मैले भनेँ।

यो भाषण नगर तिमी, उनले सहज प्रवृत्तिमा सुनाइन्, हो ! मलाई छोरो पाउने पक्कै रहर छ। यो मेरो आफ्नै रहरले होस् वा कसैको करले होस्। तर मलाई छोरो पाउने गराइदिने सामर्थ्य मेरो लोग्नेमा भएन। त्यसैले तिमीसँग सुत्न चाहन्छु धक मारेर।

उनको यस कुराले मलाई आश्चर्यसाथै हाँसो उठ्यो र भनेँ, त्यतिका छोरीहरु कसले पाइदिने गराइदियो त ? भन त कतिवटी छोरीहरु भए ? कि ती सबै छोरीहरुका बाबु अरु हुन् ?

आफ्नो यस अन्तिम भनाईमा उनी रिसाइन् कि भन्ने डर लाग्यो र झटपट माफी माग्दै थिएँ, उनले सहजभावमै भनिन्, यसमा तिमीले शंका गर्ने ठाउँ छैन। ती सब पाँचै वटी छोरीहरु आफ्नै लोग्नेका हुन्। अरुका भए सायद तीमध्ये कुनै पनि एक दुई वटा छोरा जन्मिने थिए होलान् !

**** ************** *********************

छोरा नजन्माउनुमा तिम्रो लोग्नेको के दोष छ त ? मैले सोधेँ।

छोरा नपाउनुमा मेरो के दोष त ? उल्टो उनले मलाई सोधिन्। उनको यस सोधाईमा मलाई फेरि हाँसो नउठी रहन सकेन। हाँस्दै भनेँ, दोष न तिम्रो हो, न तिम्रो लोग्नेको। यो त संयोगको कुरा हो छोरा वा छोरी हुनुमा। या त हुनसक्छ- भाग्यको पनि खेल हो।

सम्झ दोष न मेरो हो, न मेरो लोग्नेको। हामी दुवै ठीक छौँ- बच्चा जन्माउन। नत्र यी पाँच पाँचवटी छोरी कसरी जन्मिन्थे ! उनले सुनाइन्, र म समाजका लागि बाँझी भएँ। घरमा अरु परिवारका लागि मैले सन्तानको बाटो मेटिदिएँ। माइतीका लागि उपेक्षित भएँ।
किनभने मैले छोरो जन्माउन सकिनँ। त्यसकारण यी सबबाट मान्य हुन मैले एउटा छोरा जन्माउनै पर्छ। एउटा बलियो वीर्य मैले ग्रहण गर्नैपर्छ।

मैले भनेँ, यसमा सम्झ- म राजी भएँ र यो पनि सम्झ तिमीले छोरो नै जन्मायौ। तर के……मबाट जन्मिएको छोराले तिमीलाई शान्ति मिल्ला ? फेरि….तिम्रो घर या समाजले यो कुरा थाहा पायो भने…………………..?

त्यसमा तिमी फिक्री नगर। तिम्रा यी सब तर्कहरु पूर्वाग्रही हुन्। मेरो घर, समाज, लोग्ने सब पूर्वाग्रही हुन्। होइन भने म यसरी सबैबाट परित्यक्ता हुने थिइनँ। मेरो खुद लोग्ने जो एक शिक्षित र समाजमा प्रतिष्ठित व्यक्ति छ, उसले पनि यो कुरा कर्मको खेल हो वा स‍ंयोग हो भनी भनेन र ममाथि सँधै अवहेलनाको दृष्टिले व्यवहार गर्‍यो। त्यो ममा अब सह्य हुन सकेन। सुन्दछु- ऊ अब अरु कोहीसँग लागिरहेको छ रे। उसले त आफूलाई नै दोष दिनुपर्थ्यो जसले एउटा बलियो वीर्य ममाथि खसाल्न सकेन। म त केवल एउटा थैली हुँ। उसको सामर्थ्यले मभित्र जे हालिदिन्छ त्यसलाई मैले बोक्नु नै पर्छ।

मैले हाँसोमा कुरा थपेँ, यदि मबाट पनि छोरी नै जन्मिई भने के गर्छ्यौ ?

तिमीलाई छोरीको रहर छ, होइन र ? तत्कालै उनले कुरा काटिन्।

यसपालि म चुप लागेँ। हामीमा सम्झौता भयो- छोरो उनलाई, छोरी मलाई।

बिदा

साभार:- mysansar, on January 7th, 2012

-सुधीर ख्वबि-

आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।

कहिलेकाहीं उसलाई सहरको डेराको जीवनदेखि वाक्कदिक्क नलागेको पनि होइन। तर के गर्ने गाउँमा भएको खेतीपातीले वर्ष दिनको भोकलाई माथ गर्न पर्याप्त छैन । फेरि लुगाफाटो नून तेलको जोहो पनि त मुख बाएर बसेको नै हुन्छ। पिउनको जागिर। जेनतेन धाउनु त पर्यो नै।

गाउँमा हुन त तीन ज्यान मात्रै छन्। बा, आमा र छ महिना अघि मात्रै बिहे गरेको श्रीमती मात्रै। दाई भिन्नै बसेको बर्षौं बिती सक्यो। भिन्नै बसेपछि बाउ , आमालाई हेर्नै नपर्ने चलन। अंश न पाउन्जेल बाउको खुशामद गर्यो। पाएपछि , नाक मुख नदेखेको बर्षौं बित्यो। अधिकार मात्र खोज्छ , कर्तव्यलाई स्वास्नीको फरियामा पोको पार्छन्। आफ्नो बाउ आमा हो। उसलाई त माया लाग्छ। कुनै बेला मन अमिलो हुने कुरा मात्र हो यो , उसको।

उसो त बिहे गरेको लगत्तै श्रीमतीलाई पनि काठमाडौँ ल्याउन न चाहेको कहाँ हो र! तर बल्ल कर गरि गरि छोरालाई मनाएर भित्राएकी बुहारीलाई घरधन्दामा न लगाईकन छोराको पछी पछी लगाई पठाउन कुन सासुले सक्लिन र उसले पनि मुखै फोरेर पनि भन्न सकेन आफ्ना बा आमालाई।

हुन त काठमाडौँबाट तीन घन्टाको मोटर बाटो, एक घन्टाको पैदल बाटो मात्र हो। घरमा पुग्न बढी से बढी लाग्ने समय भनेको पाँच घण्टा मात्र हो । शनिबार बिहान सखारै हिड्यो भने बिदा मनाई वनाई, आईतबार घरबाट चारै बजे हिड्यो भने दस बजे भित्र जसरि पनि अफिश पुगिहाल्छ। उसको समयको तालमेल मिलेको पनि छ अहिले सम्म त। बिहे गरेको शुरु शुरुमा ऊ हप्तैपिछे घर न पुगेको पनि काहाँ हो र एक दुइ महिना सम्म। बाउले t उसलाई केहि भनेन तर आमा कराउन थालीन्। छोरो यसरि घर आउन थालेकोमा।। त्यसैले यहि कुरामा रिसाएर ऊ घर न गएको पनि महिना दिन नाघिसकेको थियो तर आज ऊ मनले बाँधिएर , खुट्टाले डोर्याएर उसलाई उसको गाउँ तिर लगिरहेको छ।

बस आफ्नो तालमा गुद्दैछ। बसको गति भन्दा उसको मनको गति अत्यन्त तिब्र छ। तर लोकल बस न हो गन्तव्यमा पुग्न जति ढीला भो उति ड्राईभर र खलासीलाई उति फाईदा। बाटोमा हिंड्ने बटुवाले जहाँ हात उठायो त्यहीं बस घ्याच्च रोकिन्थ्यो। बसमा बस्ने त के उभिने ठाउँ सम्म पनि मुस्किल थियो तर ऊ बाध्य थियो उसलाई बस संगै यात्रा गर्नु थियो। बसलाई, ड्राईभरलाई उसको हतारो सित केहि मतलब थिएन जब जब बस रुक्थे उसलाई सिटमा बसी नसक्नु हुन्थे जुरुक्क उठेर निस्कुँ जस्तो लाग्थे। बरु हिंडेरै छिटो घर पुगिन्छ कि जस्तो पनि लाग्थे ।

अरु बेला तीन घण्टामा आईपुग्ने, आज बल्ल चार घन्टामा उसको बस बिसौनी आईपुगे। ऊ हतारिंदै बसबाट ओर्ले र आफ्नो गाउँको बाटोको उकालोतिर लम्के। उसका पाईला त्यो गोरेटोमा हिंडेको भन्दा पनि उडेको जस्तो भान हुन्थे। ऊ सासै न फेरिकन एक तमासले हिंडेको हिंडे गर्यो।

करिब आधा आधि घण्टा पछी पीपलको चौतारी निर पुगेपछि उसले पर सम्म आँखा डोर्यायो। यहाँबाट अलि टाढा उसको घर देखिन्थ्यो र उसलाई अलिकति राहत मिल्थ्यो तर ऊ कहिले पनि थकाइ मार्न चौतारीमा बस्दैनथे। ऊ झन् घर पुग्न हतारिंथे . आज पनि ऊ थकाइ मार्न बसेन। उसका पाईला झन छिटो छिटो बाटो नाप्न थाले।

ऊ घर पुग्यो। रुखको हाँगाले बन्द गरिराखेको आँगनको प्रवेशद्वार खोल्दै भित्र छिर्यो। पिढीमा बसिरहेको बाउलाई ढोगे र यता उति नजर डुलाउँदै सोधे – ‘आमा खोइ त ? ‘ – जवाफमा बाउ चाहिंले त्यहिँबाट आवाज लगाए ‘ए बले कि आमा तेरो छोरा आ’को छ , बाहिर आ’ त .”

ऊ एक छिन सुस्ताउन पिढी मै थचक्क बसे . एकछिन पछी हातमा आम्खोरा लिएर आमा देखा परी .

‘धेरै दिन पछी आयौ नि छोरा, ल पहिला हात गोडा धो, आराम गर अनि खाना खानु पर्ला .’

तर उसको मन र आँखाले पातलीलाई खोज्न थाल्यो। अरु बेला त ऊ आएको थाहा पाउना साथ ढोकाको खापामा जिउ आधि लुकाएर चियाउन आइपुग्थी र उसलाई हेरेर लाजले अनुहार रातो पारेर भाग्थी, तर आज किन देखा परिनन् !

उसले पुलुक्क आफ्नो बा आमाको अनुहार हेरे, र सोधे-’ पातली त देख्दिन नि म , कता गईन , घाँसपातको लागि गा’की छिन कि ?’

उसको प्रश्नमा आमा चाहिं ले लामो सास फेरिन। उसको छाती नराम्रो आशंकाले धक्क फुल्यो . अनुहारको रंग फुरुंग उड्यो .

‘कहाँ घाँसपातको लागि जानु नि। मेरो यो बुढी हड्डीले बुहारी पाएर पनि सुख पाएन . के गर्नु , मेरो त कर्म नै यस्तो .’

अब त उसको हृदयको स्पन्दनले तिब्र गति लिन थाल्यो। लगभग चिच्याएको आवाजमा सोधे -’के भो आमा पातलीलाई ?’

– ‘के हुनु नि त्यसलाई। थला परेकी छे। स्वास्थ्य चौकीमा हिजो लगेर देखाको कम्पाउन्दरले टाईफाईड हो कि के हो भनेको छ। औषधि लिएर आ’की छुँ। जरो त हनहन्ति नै छ बिचरीको। ,तँलाई खबर गरूँ कि जस्तो लाग्या’थ्यो, तँ नै आइपुगिस् , ठिकै भो ‘

आमाको कुरा सुन्दा सुन्दै ऊ हत्तारिंदै घरभित्र पसे।

भित्र कोठामा गुन्द्री माथि ओछ्यईएको बिछ्यौनामा जरोले थला परेकी पातली, बले आएको देखेर बिस्तारै उठ्न खोजिन् .

-’भयो भयो न उठ तिमी आराम गर। ‘

भन्नलाई त उसले पातलीलाई आराम गर भन्यो। तर उसको मुखबाट मनको कुरा पनि प्याच्च निस्की हाल्यो -’आज शनिबार, बिदा भनेर घर आ’को के गर्ने <'

– ऊ दिक्क माने जस्तो भयो उसलाई स्वास्नी बिरामी परेको पीर भन्दा पनि उसको बिदा खेर जाने कुराको पीर पर्यो .

आफ्नो लोग्नेको कुरा सुनेर पातलीको मन कुँडियो तर पनि लोग्नेको मन राख्न भनिन् -‘जरो त त्यति साह्रो छैन जस्तो छ औषधि खाएर कम भा’को छ धन्दा न मान्नुस, तपाईं ‘- पातलीको कुरा सुनेर उसको मुहारमा चमक देखा पर्यो ।

बेलुकीको खाना पछी सुत्ने सुरसार गरे। उसले मलाई त निन्द्रा लाग्यो, भोलि बिहान नै फेरी अफिस भ्याउने गरि हिंड्नु पर्छ भन्दै अर्को पट्टि फर्केर सुत्यो। तर ऊ कहाँ सुत्न सक्यो र बस आँखा चिम्लेर सुतेको स्वांग पार्दै पल्टीरहे। रातको बाह्र बज्यो , एक बज्यो। घरि यता पल्ट्यो घरि अर्को पट्टि पल्ट्यो। जसरि कोल्टे परे नि उसको निन्द्राको ठेगान नै भएन।

जरोले थला परेकी पातली आफ्नो लोग्नेको छटपटी , चाहनाबाट अनभिज्ञ थिईनन-‘ किन तपाईंलाई निन्द्रा लागेन जस्तो छ आउनुस वर आउनुस’- पातलीले आफ्नो लोग्नेलाई आमन्त्रण गरिन। ऊ बिस्तारै अघि सरे। उसका हात सल्बलाउन थाले। जिउ भरि बिजुली चम्के जस्तै भयो। उसका हातले पातलीको शरीर स्पर्श गर्न थाले जहाँतहीं। ,अहो ! ऊ त तर्स्यो। कस्तो तातो जरोले हरंत , पसिनाले निथ्रुक्क पातलीको ज्यान। ऊ अन्तरद्वन्दमा फंस्यो। एकछिन मन मनै गुन्यो , जरो त निकै नै छ। अब के गर्ने के नगर्ने, अघि बढ्ने कि न बढ्ने। केहि बेर ऊ शून्य प्राय: स्थितिमा अचल बने। एकछिन पछी फेरि सोचे, भोलि बिहान अफिसको लागि हिंड्नु त जरुरि नै छ। अब फेरी गाउँमा आउने भनेको फेरी कहिले कहिले हुन्छ। उसले सम्झ्यो। बसमा घन्टौंको यात्रा , डेराको एकाकिपन। उसको गला स्याप्प सुक्न थाले। मनको प्यास , तनको भोकले ऊ पूर्ण रूपमा घेरिसकेको थियो . उसको अगाडी यतिबेला बिरामी स्वास्नी नभई, नारी शरीर पसारिएको छ , अनि उसले अघि बढ्ने नै निस्चय गर्यो र अघि बढ्दै गयो।

विवशता (कथा)

साभार: mysansar, on March 10th, 2012

-भक्त गुरुङ-

रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र कुकुरहरु भुकी रहेको एकोहोरो आवाज मेरो कानमा परि रहेको थियो! म नजिकै, मेरी प्राण भन्दा प्यारी पत्नी स्वाँ स्वाँ निन्द्रामा थिइन् । लाग्थ्यो, म उनको साथमा रहंदा तिनलाई कुनै भय थिएन, न त त्रास चिन्ता नै …।पूर्ण संरक्षणको महशुस गरेकी थिइन् होली सायद; तिनले घोर निन्द्रामा पनि मलाई समाती रहेकी थिइन् ,मानौं , म अन्तै एक्लै रातमा नै बिलिन हुँदै छु!मलाई उनि प्रति मायाँ लाग्दछ ,दया अनि सहानुभूतिको बाढी नै आउँछ ,अनि म उनको सुकोमल मुहार हेरी रहन्छु , आखाँहरु रसाउँछन् ; आशुका थोपाहरु उनको गालामा तप्किन पुग्छन् म भावआवेशमा उनको निधारमा च्वाप्प म्वाई खान्छु !


मेरी प्यारीले मलाई लाखौ लाख बिन्ति गरेकी थिइन् । आँखाबाट आँशुका बलिन्द्र धारा पोखाएकी थिइन् । उनको त्यो नै अन्तिम हतियार थियो मलाई विदेश जान रोक्न …। म तीन बर्ष अघि वेलायती सैनिकमा भर्ति भएको थिएँ ! देशमा रोजगारी थिएन , १२-१३ हजार युबकको बीचबाट म १७० जनामा परेको थिएँ मलाई अतिनै हर्ष भएको थियो! यस साल म तीन महिनाको छुट्टीमा आएको थिएँ ! छुट्टी पुरा भई भोलि बिहानै मलाई घरबाट लाहुर तर्फ हिड्नु थियो ।उनलाई मैले छुट्टीमा आएको दस पन्ध्र दिनमा नै भित्र्याएको थिएँ ।साइनोले उनी मेरै मामाकी छोरी थिइन् !उनी रोइ कराई गरिन् ! मैले भविष्यको लागि भए पनि म जानु पर्छ ,दुइ चार पैसा कमाएर ल्याउला भनी उनको कोमल भावनालाई दबाएको थिएँ । केही सीप नलागी उनी थकित भई निन्द्रा देवीको शरणमा परेकी थिइन् !

म भोली बिहानै पल्टनमा हाजिरका लागि मेरा सेतै फुलेका बाबु आमा, साथी संगी , गाउँका चौतारा खेत अनि मेरी प्राण भन्दा प्यारी पत्नीलाइ छाडेर बिदेशी भूमिमा पुन: बन्दुक बोक्न जानु थियो। बिदेशी भूमिमा लड्नु थियो, रगत पोखाउनु थियो अनि एउटा भाडाको सिपाहीको रुपमा नाम कमाउनु थियो। मैले मेरी पत्नीलाइ जे जसरी सम्झाउने बहाना बनाए पनि आफ्नो गाउँ घर छाडेर जानु त मलाई पनि कहाँ मन थियो र? यसमा मेरो आफ्नै बाध्यता थियो ,विवशता थियो अनि समाजको एउटा “रित” थियो या परम्परा थियो भनौं ! केही पैसा कमाएर पल्ला घरे क्याप्टेनको भन्दा ठुलो घर बनाउनु थियो ! आफ्नो छोरा छोरी लाइ शहरको महँगो बोर्डिंग स्कूलमा दाखिल गर्नु थियो आदि इत्यादि सपनाहरु……….. थिए !
तिनले रुँदै बिन्ति गरेका कारुणिक शब्दहरु मेरो कानमा गुन्जी रहेका थिए । “…………….खै ! तीन बर्ष पछी त के हो ,के हो ? यु. के.मा त ठुला ठुला शहरहरु छन् भन्छन् , के भर ,न उतै तिर रमझममा डुबेर हाम्लाई भुल्नु हुन्छ कि! कति भन्दा पनि मान्नु हुन्न , आमा बाबा बुढा बुढी, डाँडा माथिका घाम जुन जस्ता कति पीर गर्लान ,बिचरा हरे! पैसा मात्रै ठुलो कुरा हो र ?!” मेरो मनमा, मुटुमा दिमागमा जोर संग घोच्यो दर्द भयो , मेरा आँखाहरु रसिला रही रहे। मैले उनलाई सम्झेको थिएँ ,”हेर मायाँ , जिन्दगि लामो छ, पैसा नभए कति हेला हुन्छ ,तिमीलाई थाहा छदैं छ ।केही गर्न पनि सक्दैनौं । त्यहाँ केही दु:ख गरे केही पैसा आउँछ ,केही सजिलो हुन्छ ,फेरी म मात्र पनि त होइन, कति छन् कति म फुल्याउँथें : मुटुमा भक्कानो फुटे पनि ओठमा मुस्कान छर्दै भन्थे ,”मा तिम्लाई सुनको चुरी ,माडवारी राम्रा राम्रा साडीहरु ल्याई दिउला नि, म आए पछी भुन्टे संगै डाँडाको जात्रामा घुम्न जाउँला नि “? हुन्न र!
**************************************************
म सुस्केरा हाल्छु ……..! म निदाई रहेकी मेरी पत्नीको मुहारमा एक टक हेरी रहन्छु ! मुहारमा निर्दोषपन ,भावुकता,सरलता प्रष्ट छरिएको देख्छु ।आह! प्रकृतिको सृस्टी कति अनौठो ,मायाँ प्रेम यी जालहरु कति अचम्म छ संसारमा ,प्रकृतिको नियम , अहो ! मा झस्कन्छु । पतिलाइ कति मायाँ गर्छिन् ,कति चाहन्छिन् । मेरो आखाँमा वाल्यकाल देखि युवास्थासम्मका सम्पूर्ण घटनाहरु मानसपटलमा यादको रुपमा फिल्ममा झैं उपस्थित हुन्छन् । केटाकेटी छँदा बेशीमा हजुर-बा र साथीहरु संग गोठालो गएको,माछा मार्न हिंडेको ,लुकामारी खेलेको आदि इत्यादी! तर अब त्यो समय कहिले फर्किएर आउँला !फेरी उमेर परिबर्तन संगै पूजा आजामा सोल्टिनीहरुसंग गफ गर्दै हिंडेको,दशैँ तिहारमा रोहोटे पिंग खेल्दै हिंडेको,दु:ख पाएर पढ्न नसकी “लाहुर” कै बाटो लग्नु परेको ,लाहुरमा, रकरुटमा गाली, लात्ती खानु परेको ,भाडाको सिपाही भई विभिन्न इलाकामा ,विभिन्न मुलुकमा गई लडाईं लडेको आदि! ओह ! कति विवशता एकातिर देशमा रोजगार नहुनु, बिदेशमा खुकुरीको धारमा हिंड्नु पर्ने! म झन्डै अर्धहोस भई सकेको हुन्छु ;पुन: ब्यूँझन्छु …………उही स्यालहरु ,कुकुरहरु अनि हूचिलको एकोहोरो आवाजले……………….।
तीन महिनामै आफ्नो गाउँबाट बिरानो हुनु पर्दा, अन्तरद्वंध भई रह्यो मनमा ,के गरौ,कसो गरौँ भक्कानो फुट्यो ,…………भर्खरै विवाह भएको ……..म आफैंलाइ धिकार्छु ,म आफ्नो विपन्नतालाइ र गरिवीलाइ धिक्कार्छु ! वाध्यता हो, विवशता हो! पत्नीको अनुहारमा पुन: नजर दौडाएँ ! मुहारमा उही निर्दोषपन कोमलता भावुकता …….!फेरी भावावेशमा उनको कोमल मुहारमा मैले मुलायम स्पर्श गरें अनि निर्दोष चुम्बन दिएँ ! आँखाबाट आँशुका थोपाहरु उनको मुहारमा तप् तप् चुहि रहे, मन पग्लिए ,मुटुमा बेदना रुपी पीडाको अनुभूति भयो। म जाग्राम बसेको थिएँ त्यो रात ,अर्धहोसमा त कहिले बेहोसमा ………..। बिहान चार बजे तिर भाले को डाँकोले बल्ल म तन्द्राबाट ब्युंझियें ।
मलाई थाहा छ ,त्यो रात,कति कष्ट प्रद भयो काट्न !घर छोड्न भोली बिहान मरेकै जुनी भएको थियो मलाई ।आमा बुढी मान्छेलाइ त झन् कति पिडा भयो होला! बाबा त अलि कठोर हुनुहुन्थ्यो। बिहानै आमाले भात पकाई सक्नु भएछ ।भातमा थोरै भैंसीको सुकुटी,छुलुलु हुने गरि लुरी गाईको घ्यु ,एक गिलास तीन पाने रक्सी, कति मिठो थियो त्यो खाना तर बिछोडको समयमा त्यसको के महत्व………..!आमा रुँदै केही बोल्न सक्नु भएको थिएन ! बाबा चाहिँ,” बाबु! दुश्मनलाई चाईने….हँ ……चट्टै छिनाउनु पर्छ ,गोली लागे पनि पिठ्युँमा नहोस छाती मै हुनु पर्छ नि है । हामी गोर्खालीलाइ पशुपति नाथले सदा दया गर्छन् ! तलाई पनि गरुन्, रक्षा गरुन्। ” आत्माबिश्वासका साथ, स्वर दह्रो बनाई भन्नु भएको थियो!मलाई अझै प्रष्ट याद आइ रहेको छ त्यस क्षण । त्यस्तै अहिले म यु.के. को मेल्ट्री हस्पिटलमा छु ! मन मनै भन्दै छु ……………..”बा ! बा!! मैले छिनाएँ, बा मैले छातीमा नै गोली थापें ….पिठ्युमा थापिन !
++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
रुचि नरुचि खाना खाएँ । ड्रेस लगाएँ तयार भएँ साइतको लागि , आमा रोएको रोएकै हुनुहुन्थ्यो , बुबाले भन्नु भो,” साइत को बेलामा आँसुले छेक्नु हुन्न छोरालाइ खादा र टिका लगाएर हासेर बिदा गर्नु पर्छ , सासु बुहारी नरोउ ।” मायाँ आँखामा एक टक ले हेरी राखेकी थिइन् ।बाबा आमालाई हिंड्नु भन्दा अगाडी ढोगें। आशिर्बाद दिंदै हुनुहुन्थ्यो’,” बिसआसय आयू हुनु ,जमदार सुब्दार कप्तान हुनु ।” म घरमा बिदा लिइ हिंडे । मायाँ पनि पुर्याउन खोला वारी सम्म आईन् त्यहाँ पो बिछोड हुन ,हामी मा सार्है गार्हो परेको थियो…………..त्यो क्षण!
पल्टन मा हाजिर भएँ ! सात आठ रात सम्म त मलाई गाउँ घर परिवार कै झल्झली याद आई रहे ,एकान्तमा मात्र बस्न मन लाग्थ्यो। छाउनी मा न हो सबै केटा केटा मात्र …त्यहाँ जीवन र जगत बारे गम्भीर कुराहरु केही सुन्न पाईंदैन ,खाली जोक्स त्यो पनि फोहरी फोहरी मात्र ,गीत तेस्तै गफ तेस्तै अनि दिउसो चाहिँ बन्दुक, गोली, अनावश्यक अनुशासन ……………।अत्यन्तै सम्झना आई रह्यो , चिट्ठी लेखें केही हल्का भयो। आफु पनि पल्टने त्यस्तै वातावरणमा रमाउन वाध्य भएँ ! विवश थिएँ!
केही दिन पश्चात नै हामीलाई संसारको एउटा विवादास्पद देश अफगानिस्थानमा डिप्लोय हुनुपर्ने भयो, नाटो फौज संग मिलेर तालिवानहरु संग लड्नु पर्ने हुन्थ्यो, थुप्रै सिपाहीहरुले बहादुरीका साथ लड्दा लड्दै बीरगति प्राप्त भएको समाचार पनि आईरहेको थियो.।नुन पानी खाए पछी “रुल एंड अर्डर” त मान्नु नै पर्छ !त्यो हाम्रो फौजी कर्तब्य नै थियो। एघार महिनाको कडा तालिम पश्चात् “बा- आमालाई पनि आफ्नो खिलाफमा आए छोड्ने छैनौं “भन्ने कसम खाएका थियौं । हामी त्यस्तो अन्जान क्षेत्रमा थियौं , न त हामी लाइ त्यहाको हावापानी थाहा थियो न त भाषा भेष भुषा, हामीले किन लड्ने भन्ने पनि थाहा थिएन ! कहिले अत्यन्त गर्मी त कहिले अत्यन्त जाडो मौषमले गर्दा हामी बिचलित भएका थियौं ! लडाईं देखा देखि थिएन , लडाईं लुकेर कसरि मार्ने र ज्यान जोगाउने थियो। म लगाएत साथीहरु पेट्रोलिंग गर्दै गई रहेका थियौं अकस्मात डाँडा माथि बाट फायर हुन थाल्यो। उताबाट गोलीको पर्रा छुटी रहेका थिए । हामी तल भएको हुनाले हामीलाई अफ्ठ्यारो भई रहेको थियो। म लगायत साथीहरु लड्दै गयौं कति साथी हरु गोली लागि ढल्दै थिए ,कोहि “आमा”भन्दै खुत्रुकै भएका थिए..! हो ,मलाई राम्ररी थाहा छ ,त्यसबेला जब हाम्रा साथीहरुका साथ लडाईंका फिल्डमा पुग्यौं ! सर्बप्रथमत: मलाई मेरा बाबा, आमा , पत्नी गाउँका सम्पूर्ण इष्ट मित्रहरु ,घर लहरा पहरा मनो मष्तिष्कमा रिंगियो ! अनि केही याद आएन ,एक पटक श्री पशुपति नाथसंग आफ्नो रक्षार्थ प्राथना गरें ! अनि अघि बढें ! कतिलाई च्वाट्टै छिनाएँ ! बिदेशीको लागि लडी रहेको थिएँ ,हाम्रो त अफगानीहरु संग त केही दुश्मनी पनि त थिएन ,त्यसकारण पनि आफुलाई अफसोच भई रहेको थियो ! मेरो जिउमा गोलीको पर्रा छुट्यो,मैले पहेंला पहेंला रंगी बिरंगी बाहेक केही देखिन, बेहोस भएछु!
वेहोशीबाट ब्यूँझदा आफुलाई ठुलो कोलाहलमा पाएँ , त्यो यु.के. को एउटा मिलिटरी हस्पिटलमा रहेछ । उठ्न खोजें ,उठ्न सकिन सम्पूर्ण शरीर सिथिल भएको रहेछ । मलाई आफु प्रति नै घृणा लाग्यो। आफ्नो हालत प्रति घृणा लागेर आयो……………….।
मलाई घर फर्कन त पट्टक्कै मन लागेन ,लागेर पो के गर्नु सिर्फ मेरा लास घरमा जानु थियो। मलाई आफु मर्ने भन्ने मा अफसोच थिएन ,तर अफसोच त केवल यसमा थिएँ कि, ती मेरी पत्नी लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा बिधुवा हुने र मेरा माता पिता बिचल्लीमा पर्ने ,गर्भमा रहेका बच्चा देख्न नपाउने । हाय !मेरो विवशता ! म बारम्बार केहि समय बचाई दिन भगवानसंग प्राणको भिख माग्दै थिएँ !
मलाई सकी नसकी मायाँलाइ चिट्ठी कोर्न मन लग्यो ,चिट्ठी कोर्ने सामर्थ्य केही थिएन । मायाँको मधुर आवाज कानमा गुन्जी रहयो । “………………..सहरको रम् झम् …………..हाम्लाई मायाँ नमार्नु नि है ………” मैले के के लेखेछु …..कागज पोको पारें अनि चिट्ठीको मुनि तिर घरमा पुर्याई दिनका लागि आग्रह गरें ।अचानक कलम खस्यो………आखाँ अगाडी भयंकर अन्धकार ब्याप्त भयो!
पछी डाक्टरको अथक परिश्रमको बाबजुद मलाई बचाउन त सफल भएछन् तर मेरो दुइ खुट्टा कहिले फिर्ता नहुने भए ! आजभोली म गाउँमा नै रिटायर्ड जीवन बिताएको छु।
*******************************************************
आजकल देशको बाध्यता टुलुटुलु हेरी बसेको छु । विदेशिने प्रवृति हावी भएको छ। म चाहिँ आफ्नो छोरा छोरी ,आफन्तहरुलाई स्वदेशमा नै परिश्रम गर्न सल्लाह दिन्छु । बिदेशमा गरिने दु;ख स्वदेशमा गरेर देशको मुहार हँसाउने सर-सल्लाह दिन्छु । आफ्नो जीवनको दु;ख सुखलाई सम्झी रहन्छु ।

आँपको रूख

(साभारः दीपक जडितको मेरो साहित्य संसार र विविध)

-दीपक जडित-

‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर……… मैले त्यसैगरी सम्झिएँ । …………….

जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।

झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।

 

म होचो काटिएको ठुटोमाथि चढेँ र कुर्शीमा बसेझैं अग्लो काटिएको ठुटोमाथि बसें । बसें यस्तरी कि मानौं म भर्खरै एक जघन्य अपराधी घोषित भएको छु ।

‘हे! भगवान, किन अझैसम्म मलाई यहि कुराको अपराध बोध भैरहन्छ?’ यत्रो काल-अन्तरमा पनि यो कुरा मेरो मन मश्तिष्कबाट मेटिन सकेको छैन ।

सहजै मेटिन सक्ने कुरा पनि त थिएन यो । हो कैले कैले धेरै दिनसम्म स्मृतिमा ओझेल परेर भने बस्छ । तर अनेकौं यस्ता घटनाक्रमहरु देखापर्छन् जिन्दगीमा जस्ले यो कुरालाई स्मृतिपटमा उघारिदिएर ताजा गराईदिन्छ र मलाई दुखि बनाएर राख्छ ।

यसपटक त म स्वयं यहिँ छु जहाँ आजभन्दा बाह्रतेह्र वर्ष अगाडि मानवीले आत्महत्या गरेकि थिई । मानवीको आत्महत्याले मलाई त्यो बेला विक्षिप्तताको हदसम्म पुर्याएको थियो । एकैपल पनि उसको त्यो आँपको रुखमा झुण्डिइरहेको मृत शरिर मेरो आँखाबाट हट्दैनथियो । कैंयन रात म निदाउन सकेको थिइनं । निदाइहाले पनि सपनामा उसैलाई देखेर म आत्तिंदै ब्युझन्थें । उसको आत्महत्या पछिका धेरै दिनसम्म म बेहोसे भएको थिएँ । कहाँ छु? कतिबेला भयो? के गर्दैछु? केहि थाहा पाउँदिनथिएँ ।

गाउँघरका सबैले म एकोहोरिने भएको थाहा पाएका थिए । म टोलाईरहने र अस्वभाविक कृयाकलाप समेत गर्ने थाहा पाएर कतिले मलाई झुण्डिएको लास देखेर त्यसको सातो उडेको छ भन्थे । कतिले त अझ बहुलाहा नै भयो भन्ठान्थे ।

हुनपनि मानवीको झुण्डिरहेको मृत शरिर सबभन्दा पहिले मैले नै देखेको थिएँ । त्यसअघि धेरै पटक लाशहरु देखेको भएपनि यसरी रुखमा झुण्डिएर मृत्यूमा प्राप्त भएको शरिरलाई अह्ररो भएर झुण्डिरहेकै अवस्थामा त्यसभन्दा पहिले देखेको थिइनं । मेरो निम्ती त्यो बिभत्स र भयावह दृश्य थियो । म साँच्चै डराएको पनि थिएँ त्यसबखत । डरले शरिरका सारा रौं जुरुरु भएर ठाडो भएका थिए । अझै त्यो क्षण सम्झँदा पनि त्यहि बेला जस्तै सारा शरिर सिरिङ्ग भएर आउँछ ।

त्यो बेलामा म बिहान बिहान अँध्यारैमा उठेर दौडन जाने गर्थें । लगभग चारपाँच किलोमिटर टाढा रहेको स्कूलसम्म दौडंदै जाने र त्याँहा भेला भएका अरु परिचित अपरिचितहरुसँग फूटबल खेल्ने गर्थें । बिहान छिट्टो उठ्ने भएकोले जोत्ने गोरुलाई बिहानको राति नै घाँस भए घाँस नत्र ढेडीबाट पराल थुतेर हाल्ने जिम्मा हुन्थ्यो मेरो ।

त्यहि दैनिकि अनुशार त्यसदिन बिहान पनि म अँध्यारैमा पराल थुत्न ढेडीमा गएको थिएँ ।

मेरो घरको पश्चिमपट्टि आँगनसँग जोडिएर गाईबस्तुको गोठ रहेको थियो । गोठको उत्तरपट्टी थियो परालको ढेडी । र यो आँपको रुख जहाँ अहिले म त्यसैको ठुटोमाथी बसेको छु, त्यस परालको ढेडी भन्दा पश्चिमतर्फ चालिस मिटर जत्तिको दुरीमा थियो ।

पराल थुत्न ढेडीको पल्लो छेउपट्टि पुग्नासाथ मैले अँध्यारोमै झ्वास्स कुनै आकृति आँपको रुख मुनि हल्लिरहेको जस्तै देखें । त्यो आकृति देख्दा मेरो आङ्ग ढक्क फुलेर आएको थियो । अलिअलि डराउँदै म पराल थुत्ने उपक्रममा लागें तर ‘पहिले केहि नभएको ठाउँमा आज के हो त त्यस्तो आकृति?’ दिमाग त्यसैमा केन्द्रित रह्यो ।

त्यसो त भुक्भुके उज्यालो पूर्व क्षितिजमा आइसकेको हुँदो हो त्यसबेलासम्म तर त्यो आँपको रुखको चारैतिर धर्तीमा खस्नै लागेको उज्यालोको पूर्व आभा छेक्नलाई केहि दुरीमा एकातिर बाँसको झ्याङ्ग र अर्कातिर केराघारी थियो । यस्तोमा त्यसबेला त्यो आकृति यहि हो भनेर ठम्याउन सकिन्नथियो ।

‘कसैको बस्तुभाउ फुकेर आएको हुनसक्छ ।’ सम्भावना औंल्यायो दिमागले ।

म पराल थुत्दै त्यहि आकृतितिर हेर्दैथिएँ ।

‘अहँ त्यो बस्तुभाउ फुकेर आएको हैन । फुक्का बस्तु त्यसरी एकैठाउँ उभिइरहँदैन ।’ म त्यो आकृति फुकेर आएको वस्तु हैन भन्ने निचोडमा पुगेँ । त्यसमाथि त्यो आकृतिलाई नियालिरहँदा मलाई कोहि मान्छे नै उभिइरहेको; अझ हातले ईशारा गरेर मलाई नै बोलाउँदै गरेको भान पर्यो ।

मलाई झट्ट मानवीको याद आयो । यो पक्कै पनि मानवी नै हुनुपर्छ । उ सँग मेरो भेट भएको पछिल्लो पटक पनि राति एघार बजेसम्म मानवी मसंगै यहि आँपको रुखमुनि थिई । मैले कर गरेर उसलाई घर लिएर गएको थिएँ । उसको घरमा पुगेर मैले कति बोलाउँदा पनि उसको घरकाले सुनेको नसुन्यै गरेका थिए । उनिहरु उसको निम्ति घरको ढोका खोल्न सम्म तयार थिएनन् । अन्तत उसकि बैनि आएर चुपचाप ढोका खोलिदिएकि थिई ।

यो आँपको रुख मानवीको ज्यादै प्रिय ठाउँ थियो । यहि रुखको फेदमा खेलेर हुर्किएकि थिई मानवी र म पनि । उमेरले मानवी म भन्दा पुरा पाँचवर्ष ठुलि थिई । र पनि हामी सानोमा यो आँपको रुख मुन्तिर भातपकाई, पूतलि या यस्तै अरुकेहि खेल्ने गर्थ्यौ ।

ठ्ल्ठुला भैसकेर पनि हामी यो आँपको फेदमा घण्टौं बिताउंथ्यौं । आफ्ना हरेक खुसीहरु मानवी मलाई यहि आँपको रुखमुनि बोलाएर सुनाउंने गर्थी । दुखि हुँदा त झन यो आँपको रुख जति नजिकको साथी उसको कोहि हुँदैनथ्यो ।

चैते खडेरीले खरो भएको ढेडीको पराल थुत्दा हातले समातेको मध्ये एकतिहाई मात्र निस्कन्थ्यो । मलाई यता पराल थुत्न जोड परिरहेको थियो भने उता मानवीको कुराले दिमागमा झन जोड पारिराखेको थियो । मैले पराल थुत्ने उपक्रमलाई निरन्तरता दिइरहें । म सायद गोरुलाई पराल हाल्ने काम सकेर मात्र आँपको रुखतिर जान्थें ।

निक्कैदिन देखि मानवी तनावमा थिई । उ दुई जिउकि भएको कुरा उसले मलाई यहि आँपको फेदमा ल्याएर सुनाएकि थिई । भनेकि थिई, ‘दीपक, मैले भुँडी बोकेकि छु । अब के गर्ने होला?’

त्यो कुरा उसले यति सहजताका साथ भनेकि थिई कि, मानौं उ मलाई ढाँटिरहेकि छे अथवा मलाई डर देखाएर उ मेरो प्रतिकृया बुझ्न चाहन्छे ।

निश्चय नै त्यो मेरो लागी अप्रत्याशित कुरा थियो । हुनसक्छ म त्यो बेला अनुहारले नीलोकालो भएको थिएँ ।

‘के भनेकि मानवी तिमीले यो? त्यस्तो कसरी हुन्छ? तिमी त केहि पनि हुन्न भन्थ्यौ ।’ प्रतिक्रियामा बोलेथें म ।

‘खै? हुँदैन भन्ठान्थें म, तर हुँदोरहेछ । यि भयो त । मैले भुँडी बोकें । अझ घरमा सबैले थाहा पाएका छन् । कोहि बोल्दैनन् मसँग । बोल्नु पर्यो भने गाली मात्र हुन्छ उनिहरुसँग मेरोलागी ।’ केहि उदाश स्वरमा बोली उ ।

म निशब्द थिएँ । के बोल्ने? के भन्ने ? केहि पत्तो थिएन । बरु डरले थरहरी भएर के के सोच्न थालेथें म ।
‘हरे! भगवान! यो के भयो? के यहि उमेरमा म बच्चाको बाउ हुने भएँ? अब मेरो भविश्य के होला? छरछिमेकले मलाई के के मात्र भन्दा हुन्? कुन दिनमा म यसरी फसेँ?………’

मेरो सातोपुत्लो उडेको अनुहार उसले नियाँलिरहेको हुनुपर्छ । त्यसैले उसले भनि, ‘तिमीलाई के भयो नि? तिमी किन यसरि नीलोकालो भ’को? भुँडी बोकेकि मैले हुँ, तिमीले हैन ।’ विचरी उ उल्टै मलाई नै सम्झाउँला झैं गर्दै थिई तर उसको अनुहारमा अन्यौलको गहिरा रेखाहरु खिचिएको देखिरहेथें म ।

‘बोका’को त मैले होला नि…..’ काँपेको आवाजले यतिमात्र भनें मैले । म असाध्यै डराएको थिएँ । डरले कामुँला झैं भैरहेथ्यो मलाई ।

‘तिमीले होइन दीपक, नडराउ तिमी । तिमीसँग त्यस्तो गरेको त अस्ति भर्खर स्वस्थानीको साङ्गे हुने बेलातिर न हो । त्यो त कति भयो र? मैले यो पेट बोकेको त चार महिना भैसक्यो ।’ आफ्नो पेट छाम्दै बोलीथि मानवी, ‘फेरि तिमीले केहि गरेको पनि होइन मलाई; मैले नै बरु गरेकि हुँ…..।’

मानवीको कुराले ठुलो राहत मिलेथ्यो मलाई । अचानक आकाश खसेर किच्नै लागेको बेला फेरि अचानकै आकाश जस्ताको तस्तै माथि गएझैं महसुस भएथ्यो ।

‘त्यसोभए कस्तो त?’ अलि सास आएझैं सोधें मैले ।

‘थाहा पाएर के गर्छौ? त्यो मान्छे छैन यहाँ ।’ उ एकाएक रुन्चे देखिई । भन्न नखोजे जस्तै उसले मुण्टो अर्कोतिर फर्काई तर उसको अनुहार हेर्दा लाग्थ्यो उ मसँग यहि कुरा बाँडेर हलुका हुन चाहन्छे ।

एकछिन अगाडीसम्म आफैं फन्दामा परिसकेझैं अत्तालिइरहेको म त्यसबेला ढुक्क थिएँ र जान्न चाहन्थें कि, को हो त्यस्तो मान्छे जस्ले मानवीलाई गर्भ बोकायो र अहिले यहाँ छैन? अझ त्यसबेला त म मानवीलाई आवश्यक परामर्श दिनसक्ने समेत भएको ठान्दैथिएँ आफुलाई । दोहोर्याएर सोधें मैले, ‘र पनि भनन त को हो त्यो?’

‘अर्जुन’ उसले नाममात्र लिई र फेरि चुप भई ।

मानवीले संगत गर्ने गरेको अर्जुन यौटै मात्र हुन सक्थ्यो जो उसकै क्याम्पसमा कहलिएको क्रान्तिकारी बिध्यार्थी नेता थियो र यतिबेला सेनाले समातेर बेपत्ता पारेको थियो । मानवी पनि क्रान्तिकारी संगठनको पछि लाग्ने; सम्भवत सदस्य समेत रहेकि हुँदा अर्जुन त्यहि हुन सक्थ्यो । मानवीको अर्जुनसँग त्यस्तो नजिकको उठबस भएको तर मलाई थाहा थिएन त्यसैले निश्चय गर्न सोधें, ‘त्यहि नेता अर्जुन?’

उसले हो मा तलमाथि गरेर केहिबेर टाउको हल्लाईरहि । केहि बोलिन ।

यदि त्यो गर्भ अर्जुनकै हो भने त बोल्नु पनि के थियो? अर्जुनलाई सेनाले बेपत्ता पारेको सबैलाई थाहा थियो । कतिपय त उसलाई सेनाले मारिसके भन्थे ।

‘कसरी? कैले भयो त त्यस्तो? तिमी अर्जुनसँग त्यति नजिक भएको पनि मैले त कहिले थाहा पाईंन ।’ मैले प्रष्टिकरण चाहेँ किनभने हुनसक्ने सम्भावना भएपनि मलाई कसरी भयो या कैले भयो भन्ने कुरामा सन्देह थियो ।

‘अब त्यो सबै थाहा पाएर के गर्छौ तिमी भनत?’ बिस्मित नजर पर पर फाल्दै बोलिथि उ, ‘क्यामपसको चुनाव हुनुभन्दा अगाडी भ’को । गल्ति गरेँ मैले । अब सुधार्न सकिँदैन । अर्जुन भएको भए कुरा अर्कै हुन्थ्यो । उ नै नभएपछि अब यो कुरा कोट्याएर पनि फाईदा छैन । झन दुखि हुनु मात्र हो ।’

अर्जुन पक्षको कुरा यहाँ भन्दा सुनाउनु आवश्यक पनि थिएन उसले मलाई । उ अर्जुनको थप कुरा गर्न चाहन्नथि तर यो समस्याको निकास त चाहिएको थियो उसलाई ।

एकछिन अगाडिसम्म यो सब आफ्नै कारणले भएको हो भनेर तिल्मिलाएको म आफ्नो कारणले होइन भन्ने हुँदा ढुक्क त थिएँ तर तत्काल फेरि मानवीको गर्भको दोश्रो जिम्मेवार ब्याक्ति जो बेपत्ता छ उहि निस्किएपछि अर्को छट्पटि भयो मलाई । मानवीले अब के गर्ने? यहि चिन्ता हुन थाल्यो ।

‘अनि, घरमा के भनेकि छौ नि? कस्को हो भन्यौ?’ सोधेको थिएँ मैले ।

‘जे हो, जस्को हो त्यहि भनेकि छु । अर्जुनकै हो भनेकि छु । त्यसैले त झन उग्र छन् घरमा सबै । लगेर जिम्मा लगाउने ठाउँ पनि राखिन भन्छन् ।’ वास्तवमै मानवीको मुद्दामा जिम्मालिने पात्र नै थिएन । उसको घरमा पनि कसरी जाने जब उ नै बेपत्ता छ ।

‘तिमीले बरु बेलैमा गर्भपतन गराउनु पर्ने त्यता किन सोचिनौ?’ समस्याको निकास त्यो पनि त हुनसक्थ्यो भन्ने अभिप्रायले सोधेथें मैले ।

‘त्यो आँट नै आएन पहिले; पछि घरका सबैले थाहा पाएपछि ग’कि हुँ । ढिलो भैसकेको रहेछ ।’ पिर्लिक्क उसका आँखाबाट आँसुका थोपा खसे । निकासको सम्भावनाको यो पाटो पनि समाप्त भैसकेको रहेछ ।

‘त्यसो भए अब म हुन्छु यो बच्चाको बाउ । तिमी पनि यो मेरै हो भन । अनि हामी बिहे गरेर अन्तै कतै गएर बसौंला ।’ मानवीको अगाडी अँध्यारो भविश्य मात्र देखेपछि म मा यो आँट त्यसै पलाएर आएथ्यो । उसको सुरक्षार्थ म उसको पेटको बच्चाको बाबु बन्न तयार थिएँ तर मैले अन्तै कतै गएर बसुंला भन्ने कुरालाई जोड दिएको थिएँ त्यसको मतलब हुन्थ्यो कि म यो समाजलाई ठाडो चुनौति दिन पनि डराउँथें ।

‘नाईं हुँदैन । तिमी म भन्दा ५ वर्ष सानो मान्छे कसरि मेरो लोग्ने हुने?’ ईन्कार गरिथि मानवीले ।

‘त्यो दिन त तिमीले मलाई ५ वर्ष सानो भनिनौ त?’ मानवीसँग सहवास गरेको दिनतर्फ थियो मेरो ईसारा । त्यसदिन जे भएको थियो त्यसको साक्षि पनि त्यहि आँपको रुख थियो ।

गाउँकै यौटा घरमा स्वास्थानीको साङ्गे भएको रात मौका छोपेर मानवीले मलाई त्यो आँपको फेदमा लगेकि थिई र सम्भोग गर्ने प्रस्ताव राखेकि थिई । उसैले मलाई बिश्वास दिलाएकि थिई त्यसो गर्दा केहि बिग्रिदैन बरु सम्भोग गर्दाको आनन्दको अनुभव हुन्छ भनेर । मैले पेट बोक्यौ भने के गर्ने नि भन्दा समेत उसले एकपल्ट गर्दा के को पेट बोकिनु धेरै गर्दा पो बोकिन्छ त पेट भनेकि थिई । उसको हठको अगाडि प्राय हार्ने म त्यसरात पनि हारिदिएको थिएँ । कहिँ त म भित्र पनि सम्भोगको अनुभव हासिल गर्ने लोभ जागेर आएको हुनसक्छ त्यसरात । डराई डराई सुरु भएको त्यसरातको क्रिडा कल्पना भन्दा धेरै सुखद अन्त्यमा टुँगिएथ्यो बरु त्यसपछि भने परिणामको चिन्ताले केहिदिनसम्म खाएथ्यो मलाई र केहिदिन पछि त्यो पनि हटेर गएथ्यो ।

‘त्यो अर्कै कुरा हो दीपक, त्यो दिनको लागि तिमीले पश्चताप गर्नु पर्दैन ।’ उ अझै मानिन ।

निक्कै प्रयास गरेर मैले उसलाई मनाएँ । उ ह्रदयले नै राजी भएकि थिइन तर उसको अगाडि अरु विकल्प नभएकोले हुन्छ भनिथि । त्यसैले मानवीको पेटको बच्चा मेरो हो भन्ने दाबि गर्दै म उसको घर गएथें ।

तर परिस्थिती सोचे जसरि निस्किएन । उसका बाबा आमाले पहिले उसैलाई सोधे ‘यसैको हो त तेरो पेटको अवगाल?’

मानवीले भयपूर्ण आवाजले हो मात्र के भनिथि उसका बाबा आमा खनिए उसैमाथि, ‘हिँजोसम्म यौटाको हो भन्दैथिई, आज अर्कैको हो भन्छे । यो रण्डि कतिजनासँग सुतिसकि? लाजशरम भन्ने त कुरा त फिट्टिक्कै पो रहेन ए । भोली फेरि अर्कैलाई देखाएर यस्को हो भन्लि । यौटाको पाप बोकेर क-कस्लाई मुस्छेस् हँ? यस्ता वेश्याहरु त गर्भैमा तुहिएर जानु नि यो दिन देखाउनलाई किन बाँचेका हुन्?……………’

चट्याङ्ग सहितको साउनको कालो मेघजस्तै उनिहरु एकोहोरो वर्षिरहे मानवीमाथि । उसको बचाउ गर्दै मैले भनें, ‘यो मेरै बच्चा हो । हामि बिहे गर्छौं । बरु हामि टाढा कतै गएर बस्छौं ।’

मानवीका बाबा आमा मतिरै खनिए, ‘तँ नाथे छुसि! हामिले हगेको मुला! हिँजोको चल्ला, बडो आएछ यो वेश्यालाई बचाउन । निस्किहाल्, तँ यहाँबाट गैहाल् । ओठमा दुध मरिसकेको छैन; बडो आएको बच्चाको बाउ हुन ।’ उनिहरुले मलाई त्याँहाबाट लखलखे लाएर खेदे ।

मानवीको घरबाट खेदिएपनि मैले उसलाई बिहे गर्ने र उसको पेटको बच्चाको बाबु बनेर उसलाई साहारा दिने प्रण नै गरेको थिएँ तर नियतिलाई सायद त्यो मञ्जुर थिएन । मलाई मनवीको घरतिर ढिम्किनै दिंदैनथिए उसका बाबा आमाले । उ पनि मेरो घरतिर आईन । मैले केहि दिनसम्म रातबिरात पनि आँपको रुखमा उसको प्रतिक्षा गरेँ तर अहँ उ घरमा बन्दि थिई या के थियो उ बेखबर भई । बरु उसको बदनामीको हल्ला भने आगोजस्तै गाउँभरि फैलिएथ्यो साथमा अर्जुनको नाम जोडिएर ।

अरु केहि दिन यसरी नै बितेका थिए । मानवीको चिन्ता लिए पनि मैले केहि गर्न सकिराखेको थिईनं । म आफ्नो नियमित दैनिकिमा उसैगरि चलिरहेथें जस्तो कि यस्तो कुनै अवस्था सिर्जना नभएको बेलामा चल्थें । त्यहि केहि दिनपछिको अवस्था थियो मैले पराल थुत्दै गर्दा आँपको रुखमा त्यो आकृति देखेको ।

गोरुलाई पुग्नेगरि थुतिसकेको परालको थुप्रो त्यहिँ छोडेर म आँपको रुखतिर लागेँ । मानवी हो भने म पहिले उसलाई लिएर आउँछु र आजै उसँग भागेर कतै जान्छु भन्ने सोच्दैथिएँ म त्यो बेला । अँध्यारो अझै छँदैथियो तथापि त्यस आकृतिको नजिक पुग्दा नपुग्दै म चिसो भएँ । आकृतिको अवस्था र आकृति के हो बुझ्न मलाई बेर लागेन ।

त्यो मानवी नै थिई तर मलाई पर्खिरहेकि मानवी थिईन त्यहाँ । त्यहाँ त म लगायत सबैसँग सदबिदा भैसकेकि मानवी थिई ।

हो, मानवी झुण्डेर मरिसकेकि थिई, त्यहि उसको प्रिय ठाउँमा, त्यहि उसको प्रिय रुखमा, डोरिको पासो लाएर झुण्डिएकि मानवीलाई त्यसरी फेला पारेथें मैले त्यो बिहानको राती ।

होचोहोचै हाँगामा झुण्डिएकि मानवीको यौटा खुट्टा तन्किएर भुँई छुन कोसिस गरेझैं र अर्को खुटा चैं अलि खुम्च्याए जस्तो थियो । खुल्ला छोडेको उसको कैलो कैलो केशहरु अनुहारतिर छरिएको थियो । दुबैहातहरु लुत्रुङ्ग झुण्डिएका थिए । मैले झम्टेर गएर उसलाई समातें तर उ अह्ररो र चिसो भैसकेकि थिई ।

त्यसक्षण मेरो मुखबाट राम! राम! निस्किएथ्यो । तत्क्षण नै म एकदम बिचलित भएको थिएँ यद्दपि मैले त्यसबेला ठस्स गुहूको दुर्गन्ध थाहा पाएको थिएँ । सम्भवत प्राणपखेरु उड्दा कष्ट परेर मानवीको मलद्वारबाट दिसा निस्किएको हुनुपर्छ ।

एकाएक मलाई चारैतिरबाट डरले घेरेर ल्यायो । म चिच्याउँदै रुँदै अझ लड्खडाउँदै पराल ढेडीतिर भागें र आफैंले थुतेर थुपारेको परालको थुप्रोमा अल्झिएर लडें । मलाई पछाडिबाट कालले लखेटिरहेझैं भएको थियो त्यतिबेला ।

म चिच्याएको सुनेर सबैभन्दा पहिले आख्खुम दाइ आउनुभयो । त्यसपछि आमाबाबा लगायत घरका सबै आईपुगे । सबैलाई मलाई सर्पले डस्यो भन्ने परेको रहेछ । परालमा प्राणै जान लागेझैं लम्पसार परिरहेको ममाथि टर्चलाईट लाउँदै आख्खुम दाइ सोध्नुहुँदैथियो, ‘खै कहाँ टोक्यो?’

बाबा ‘ए डोरी ल्यावो झट्टै, बाँध्नुपर्छ।’ भन्नुहुँदैथियो ।

मैले मुश्किलले सर्पले टोकेको हैन भन्न सकें तर अगाडि केहि बोल्न सकेको थिईनं ।

‘के भयो त के?’ उनिहरु सबै एकमुखले सोध्दै थिए । आख्खुमदाइ स्थितीको जाँच गर्न वरपर टर्चलाईट लाउनुहुँदैथियो । खास नाम रत्न भएका आख्खुम दाइ हाम्रोमा खनजोत गर्ने काम गर्नुहुन्थ्यो र हाम्रै घरमा बस्नुहुन्थ्यो । जतिबेला पनि खोके जस्तै आख्खुम आख्खुम् गरिरहने आदत भएर वहाँको नाम आख्खुम रहेको थियो । वहाँले नै हात दिएर मलाई उठाउनुभयो ।

सबैजना वरिपरी भएपछि मलाई निक्कै साहारा भएको भएपनि म काँपिरहेकै थिएँ । मैले हातको ईशाराले आँपको रुखतिर देखाउँदै अस्पस्ट बोलेँ, ‘मानवी…………आँपको रुखमा…………’

परिस्थिती बुझ्न त्यहाँ भएका कसैलाई पनि मैले स्पस्ट बोलिरहनु पर्ने आवश्यकतै परेन । मानवीले भोगिरहेको तनावसंग सबै परिचित थिए । मेरि आमाले त पहिल्यै अनुमान गर्नुभएको थियो । भन्नुहुन्थ्यो ‘कसै न कसैको त साहारा चाहिन्छ त्यसलाई । के भ’का यो घरका मान्छेहरु? कुनदिन घरभित्रै पासो लाएर मर्छे अनि थाहा पाउँछन् ।’
त्यसबेला उपयुक्त मौका ठानेर मैले आमालाई भनेथें, ‘त्यै त, उसलाई बुझ्ने कोहि भएनन् । कि म बिहे गरुँ आमा? उसको पेटको बच्चाको म जिम्मा लिउँ?’ भित्रभित्रै मानवीलाई बिहे गर्न तयार भैसकेको अवस्था भएपनि त्यो मौका घरको; अझ आमाको प्रतिक्रिया बुझ्न उपयुक्त ठानेको थिएँ मैले र कतै आमाको तर्फबाट सकारात्मक जवाफ पाईहाल्छु कि भन्ने आसा पनि थियो मेरो ।

‘हैन के भन्छ यो?’ आमाले मेरो टिप्पा उडाउंदै भन्नुभएथ्यो, ‘साथी हो भन्दैमा त्यो कस्को कस्को गलपासो आफ्नो घाँटीमा झुण्ड्याउने कुरा गर्छस्? भएन त्यो तेरि दिदी भन्न सुहाउँछे । मायादया पलायो भन्दैमा सारा संसार थाम्न खोज्नु हुँदैन त केटा, आफुले थाम्नसक्ने मात्र थाम्नुपर्छ ।’ ज्यादै कठोर नजरले हेर्नुभएथ्यो आमाले त्यसबखत मलाई ।

मैले ईशारा गरेतिर आख्खुमदाइले आफ्नो छ ब्याट्री जाने ठुलो टाउको भएको टर्चलाईट लगाउनुभयो । त्यसको उज्यालो आँपको रुखमा झुण्डिइरहेको मानवीको मुर्दा शरिरलाई देखाउन प्रयाप्त थियो ।

मेरो झैं सबैको मुखबाट एकसाथ राम! राम! निस्कियो । त्यसपछि त के? कोहि रुन लागे, कोहि चिच्याउन । ठुलै हल्लिखल्लि भयो । वल्लोघर पल्लोघरका छरछिमेकिहरु पनि एकएक गर्दै हल्लिखल्लिमा समेल हुन हाजिर हुँदै गए । मानवीका घरबाट पनि सबै आए र मुर्छा पर्दै रुन लागे । हिँजोसम्म त्यत्रो मानसिक कष्ट सहिरहेकि त्यहि मानवीलाई उसका घरका कसैले कठै! सम्म भनेका थिएनन् । अहिले त्यसरी मुर्छा पर्दै रुँदै गरेको देख्दा मलाई लोकलाजको कतिसम्म पाईंन हुनेरहेछ त भन्ने लागेको थियो ।

उज्यालो भैसक्दा सम्म त्यहाँ मानिसहरुको मेला लागिसकेको थियो । तमासेहरुको भीड देख्दा लाग्थ्यो त्यहाँ कुनै राजनैतिक दलको आमसभा भैरहेछ ।

तमाशा हेर्न आउनेहरु प्राय सबै जना लासको नजिक गएर धित मरुञ्जेल हेर्थे र ‘यस्तो अगति परेर मर्नेलाई पनि के हेर्नु? थुक्क!’ भन्दै अर्कोतिर लाग्थे । उनिहरु मरिसकेकि मानवी र उसलाई गर्भ बोकाउने, बेपत्ता भएको अर्जुनलाई ‘छि! छि! र थू! थू!’ गरिरहेथे ।

अहो! कति कठोर बन्न सकेको हाम्रो समाज? कारण जे सुकै होस्; प्रकृति जस्तो सुकै होस् तर मृत्यु त आँखिर मृत्यु नै हो । त्यहि मृत्युमा मानिसहरु किन यति निर्दयि हुन सकेका? कतिसम्म संवेदनाहीन रहेछ हाम्रो समाज त्यो दिन बुझेथें मैले ।

तमाशेको हुलमा मरेकि मानवीसँग जोडिएर अर्जुन पनि बदनाम भैरहँदा मैले मनमनै भनेथें, ‘हे भगवान! धन्न मानवीले मेरो पेट बोकिनछ । नत्रभने आज मेरो के हविगत हुनेथियो? यत्रा मान्छेको सामुन्ने म कसरी मुख देखाउँथें होला?’ र तत्काल तुलना गरेथें मैले भर्खरै संवेदनाहीन भनेका तमाशेहरुलाई र आफु घानमा नपरेर भित्रभित्र एक प्रकारको खुशी मनाईरहेको स्वयँलाई ।

‘छि! छि! हरेक मान्छे स्वयँमा कति निर्लज्ज र स्वार्थी हुँदोरहेछ?’ आफुलाई ति तमाशेहरु भन्दा अझ तल गिरेको पाएथें मैले ।

प्रहरीहरु आए । घटनास्थल र लाशको प्रकृति मुचुल्का उठाए । मृतकका आफन्तहरु, केहि छरछिमेकीहरु र लाशलाई सबभन्दा पहिले देखेको नाताले मेरो पनि बयान टिपे र लाश झिकेर पोष्ट मार्टमको निम्ती जिल्ला पठाए । प्रहरीहरुले मृतकले कतै कुनै चिठ्ठी लेखेर छोडेको छ कि भनेर लाशमा साथै मानवीको कोठामा समेत खान तलासी गरे तर केहि फेला परेन ।

प्रहरीहरुले त्यसरी धुँईपाताल लाएर मृतकले चिठ्ठी लेखेको छ कि भनेर खोजिगर्दा मलाई मानवीले चिठ्ठी लेखेकि थिई भने लुकाएर राख्न सक्ने त्यहि आँपको रुखमा यौटा ठाउँ भएको सम्झना भयो तर त्यसबखत म त्यहाँ गएर त्यो चिठ्ठी छ होला भन्न पनि सक्दिनथिएँ र गएर खोज्न पनि सक्दिनथिएँ । सानैदेखि चढेर हाँगाहाँगा नाच्ने गरेको त्यो आँपको रुखमा यौटा गोप्य टोड्को पत्ता लगाएका थियौं मानवी र मैले । हामी सानोमा के के कुराहरु लुकाएर राख्ने पनि गर्थ्यौं त्यो टोड्कोमा । मलाई त्यो टोड्कोमा गएर हेर्ने छट्पटि भैरह्यो र म उपयुक्त अवसरको ताकमा बस्न थालेँ ।

मानवीको सदगत भैसकेपछिको केहिदिनमा मानवीका बाबाले त्यो आँपको रुख ढाल्ने निर्णय गरे । कोरामा बस्नेलाई राती रुङ्न आउने छिमेकिहरुले पनि त्यस्तै सल्लाह दिएका थिए । त्यो आँपको रुख मेरो घरको नजिक भएपनि मानवीकै बारीमा पर्थ्यो । डरले गर्दा त्यो आँपको रुखमा गएर टोड्कोमा केहि छ कि हेर्न सकिरहेको थिईनं तर त्यसलाई ढाल्ने कुरा उठेपछि मैले अबिलम्ब त्यो टोड्कोमा हेर्नैपर्छ भन्ने सोचेको थिएँ ।

त्यहिरात म मौका पारेर आँपको रुखमा गएँ । त्यसैपनि मानवीको झुण्डिरहेको शरिर आँखा अगाडी हरबखत झुलिरहन्थ्यो र मलाई भित्रदेखि डर लागेर आउँथ्यो । मानवीको आत्मा त्यहि रुखमा बसेको भए भूत बनेर मलाई मार्न आउने हो कि भन्ने ठुलो त्रास हुँदाहुँदै पनि म खै कस्तो आँटले त्यो रुखमा चढेर अँध्यारोमै टोड्कोमा हात छिराएँ । नभन्दै टोड्कोमा मैले पट्याएर राखेको यौटा कागज फेला पारें । यो मानवीले नै राखेको हो र चिठ्ठी नै लेखेर राखेको हो भन्ने कुरामा मलाई कुनै शंका थिएन । सायद उसले मर्नु अगाडी मलाई नभेटेका बेलामा भएका कुराहरु लेखेकि छे या हुनसक्छ कुनैदिन अर्जुन फर्किएर आएछ भने उ म मार्फत अर्जुनलाई कुनै खबर् छोड्न चाहन्छे । त्यो कागज बोकेर घर आउँदा सम्म म त्यसमा लेखिएको हुनसक्ने कुराहरु अनुमान गर्दैथिएँ ।

त्यसरात बाबा मानवीकै घरमा कोरामा बस्नेलाई रुङ्न जानुभएको थियो । घरमा बाँकि रहेका सबै निदाईसकेका भएपनि मैले श्वास दबाएर पढेको थिएँ त्यो चिठ्ठी । त्यहि चिठ्ठीले त मलाई बिक्षिप्त बनाएको थियो । लगभग पागल भएको थिएँ म । र घरमा बस्न नसकेर मानवी मरेको महिनादिन नबित्दै घर छोडेर हिँडेको थिएँ । भलै हिंड्नलाई पढ्न जाने बाहाना थियो तर कारण मानवीकै आत्महत्या थियो र आज तेह्र वर्षपछि बल्ल फर्केको थिएँ यो ठाउँमा म । त्यसबेला त्यो चिठ्ठी पढेर म आफैंले पनि झण्डै आत्महत्या गरेको थिएँ । त्यस चिठ्ठीमा लेखिएको थियो –

दीपक,

तिमीले दिएको त्यत्रो आड भरोसाले पनि मैले आफुलाई भोलीको दिनमा खुसी देख्न सकिंन । आफ्नै जन्मदिने बाबाआमाले समेत बात बातमा यस्ता त मर्नु नि बरु भनेको सुन्दा सुन्दा मलाई अब मर्नुभन्दा अर्को बिकल्प छ जस्तो लाग्दैन । मैले तिमीसँग बिहे नै गरेँ भनेपनि म बाँच्न त सकुँला तर जिन्दगी खुसी भएर बिताउन गाह्रो हुन्छ । हामी कहाँ जान्छौ? के गर्छौ? घरमा कहिले पनि हाम्रो बिहे स्वीकार्य हुँदैन । यस्ता कुराहरु सम्झँदा म जिन्दगीमा कतै पनि उज्यालो देख्दिनँ । त्यसैपनि तिमी म भन्दा पाँच वर्ष कान्छो मान्छेलाई आफ्नो लोग्नेको रुपमा कल्पना सम्म गर्न सक्दिंन म नत्रभने आफुले गरेको गल्तिमा बिनाबित्थामा अर्जुनलाई मुछ्दै झुठा कहानी किन रच्नु पर्थ्यो?

हो दीपक, अर्जुनको कहानी मैले त्यसै रचेको काल्पनिक कहानी थियो । मेरो पेटमा त तिम्रै बच्चा हुर्किंदैथियो तर हेरन मलाई यो कुरा तिमीलाई पहिले नै भनेर या घरका मान्छेलाई तिम्रो हो भनेर तिमीलाई तकलिफमा पार्न कत्ति पनि मन भएन । बदनाम त म जसै गरेपनि भैसकेकि थिएँ तिमीलाई पनि किन बदनामीको कालो दाग लगाउनु भन्ने लाग्यो मलाई । त्यसैले धेरैदिन सोचेर मैले बेपत्ता भएको अर्जुनलाई दोष लगाएँ । बिचरा! उ जिउँदो छ कि मरिसक्यो त्यो पनि थाहा छैन । मरिसकेको रहेछ भने उसको आत्माले मेरो मजबुरि बुझेर मलाई माफ देवोस्………..साँच्चि त म पनि मरिसकेको हुनेछु त्यसबेला त…………. उसको आत्माले मेरो आत्मालाई माफी देवोस् । यदि उ जिउँदै रहेछ र कुनैदिन फर्केर आएछ भने उसलाई मैले बदनाम बनाउनु परेको यो कथा तिमीले सुनाएर सम्झाईदिनु उसलाई ।

मेरो साथी, तिमीले मेरो मृत्युमा शोक नगर्नु ल? यो सब मेरै कारणले भएको हो । यो सब हुनुमा म एक्लै जिम्मेवार छु र जे भोग्न गैरहेकि छु त्यसको योग्य हकदार पनि म एक्लै हुँ । यतिबेला मलाई तिम्रो बाहेक अरु कसैको पनि माया लागेको छैन । आफ्नै पनि माया लागेको छैन ।

तिमी सुखी रहनु ल मेरो साथी । मलाई बिदा देउ ।

सदबिदा
मानवी

कथाः मेरी स्वास्नी र त्यो मान्छे

(साभारः समकालीन साहित्य)

– सञ्जय बिष्ट-

आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो।
‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले त्यो देवेन्द्रजस्तै छ। म मान्छे हुँ— को बोध उसलाई यही आकृति अर्थात् शारीरिक बनावटले नै गराएको हुँदा आफ्नै जस्तो आकृतिको त्यसलाई ऊ ‘त्यो मान्छे’ भन्छ।

घाम लागेको थियो न्यानो, घरका छानाहरूतिर।। सुकाइएका लुगाहरूतिर। बाटातिर। चारैतिर।

पुराना मैला लुगाहरूमाथि उत्तानो सुतेको रहेछ त्यो मान्छे देब्रे खुट्टामाथि चढ़ाएको दाहिने खुट्टा हल्लाउँदै टुलुटुलु आकाशतिर हेरेर मस्तसँग।
समस्याहरू, दु:खहरू एउटै पनि नभएको जस्तो त्यो मान्छेलाई देखेर नमान्दा नहुने कुरो रहेछ दु:ख भन्ने लागेको थियो देवेन्द्रलाई।
हो, त्यही दिन हो याद गरेको देवेन्द्रले त्यसलाई। देखेको कतिचोटि पहिल्यै पनि थियो भने उसले याद नगरेको थियो। त्यसपछिका प्रत्येक दिन बिहान निस्केर अफिस पुग्नलाई त्यो बाटो भएर हिँड़ेन भने पनि बेलुकी घर पस्नलाई त त्यही बाटो हिँड़्यो देवेन्द्रले। अथवा बिहान बेलुकीमा एकपल्ट ऊ त्यो बाटो हिँड़्यो नै। पहिलोचोटि याद गरेपछि जति दिन देवेन्द्र त्यहॉंबाट हिँड़्यो प्राय: जसो उसले त्यसलाई त्यहीँ देख्यो— उभेको, टुक्रुक्क बसेको र अधिकत्तरचाहिँ निस्फ्रिकी सुतेकै।

त्यो दिन दिउँसो त्यो मौसमको पहिलो वर्षा भयो हठात् । अफिसमै थियो देवेन्द्र।
‘‘बर्खा लाग्यो अब।’’कहिले पर्छ र भनूँ भइरहेको जस्तो एकजनाले भनिहाल्यो।
तर दस मिनटजति पातुलो परेपछि रोकिई पनि हाल्यो पानी।
बेलुकी अफिसबाट निस्किसकेको थियो देवेन्द्र। अँध्यारो थिएन आकाश तर पानी छिटाउन थाल्यो फेरि। केही बेरपछि पानी केही बाक्लियो पनि । छाता ओढ़ेकाहरू दुई-तीनजनाबाहेक देवेन्द्रजस्तै अलइलि भिज्दै हिँड़िरहेका थिए सबै। भिज्दै हिँड़्नु त्यो दिन कसैलाई पनि अप्ठ्यारो लागेको थिएन।
त्यहॉं आइपुगेको उसले देख्यो—त्यो मान्छे आफ्नै ठाउँमा भिजेरै बसिरहेको रहेछ, सधैँजस्तै निस्फ्रिकी।
कतै ओत नलागी घर पुग्यो देवेन्द्र।
भिजेको देखेर ‘‘भिजु भो?’’ अनावश्यक सोधी स्वास्नीले उसलाई।
देवेन्द्रले ‘‘अलइलि’’ भन्यो।
‘‘फेर्नोस् लुगा।’’ नभनेकै भए पनि फेरिहाल्थ्यो लुगा उसले। आवश्यक ठानेर स्वास्नीले भनेका यी दुई शब्द देवेन्द्रले आवश्यक मानेरै ग्रहण गर्यो। घर बनाइराख्नुलाई कति आवश्यक अनावश्यक र कति अनावश्यक आवश्यक मान्नुपर्छ भन्ने दुवै जान्दथे।
चुह्लाबाट तातो चियाको कपसित आएकी स्वास्नीलाई ‘‘छाता कहॉं छ हँ मेरो?’’ सोधेको थियो देवेन्द्रले।
तर अर्को दिन बिहान देवेन्द्र उठ्दा पश्चिमपट्टिको डॉंड़ा-पाखा घामको न्यानो कम्बलभित्र थियो। आकाशका टुक्रे बादलहरूले आफ्ना मौलिक रङ्ग त्यागेका थिए।
‘‘लानोस्,’’ भनी स्वास्नीले।
‘‘होस् जोक्करजस्तो मात्रै देखिन्छु,’’ भन्यो उसले। निकालिदिएकी थिई छाता स्वास्नीले । लगेन देवेन्द्रले।
त्यसपछि कुनि कति दिनसम्म घाम लागिरह्यो। कुनि कति दिनसम्म घाम लागेर एक दिन, दिन बिग्रियो। कुनि कतिवटा दिन बिग्रिएर एक दिन पानी पर्यो।
त्यो दिन घर फर्किँदा देवेन्द्रले जस्तै थुप्रैले छाता ओढ़ेका थिए। ओत लागिरहेका र भिज्दै हिँड़िरहेकाहरू पनि केही थिए।
धेर-थोर दिन बिग्रिरह्यो त्यसपछि। छाता बनाउनेहरू अब घर-घर आउन थाले।

रातभरि थामिएर फेरि बिहानैदेखि थालेको थियो पर्नु पानीले। त्यहॉं पुगेको देवेन्द्रले देख्यो; त्यो मान्छे भिजेकै लुगाहरूमाथि टुक्रुक्क बसेको रहेछ। घाममा जस्तै पानीमा पनि निस्फ्रिकी त्यहीँ बसिरहनु सक्ने त्यो मान्छेलाई देखेर देवेन्द्र एकपल्ट छक्कै पर्यो। त्यसलाई बिर्सिएर परिरहेन।
छाता ओढ़ेर ऊ बाटोको छेउछेउ हिँड़्दैथ्यो। एउटा जिप्सी गाड़ीले खाल्डोको हिलो उछिट्याएर गयो देवेन्द्रको पतलुङभरि। देवेन्द्रभित्र एउटा अश्लील शब्दले करायो ड्राइभरलाई। तातो अनुहारको उसले मौन उभेर निक्कै परसम्म त्यो गाड़ीलाई हेरिरह्यो।
अब दिन, कुनै दिन एक छिन उघ्रिएर, पानी मात्रै परिरहने भइसकेको थियो। देवेन्द्रले दुई सय तीस रुपियॉंमा डक् ब्याक कम्पनीको एउटा जुत्ता किन्यो।
एक दिन त्यहॉं पुग्नुभन्दा केही वरतिरै देवेन्द्रले त्यो मान्छेलाई सम्झयो। आज छैन होला।—मनमनै भन्यो। टाढ़ैबाट त्यसको ठाउँमा हेर्यो उसले। टाढ़ैबाट देख्यो, त्यो त त्यहीँ रहेछ।
छक्क परेको देवेन्द्रले ‘रात-दिन भिज्दा पनि नहुँदो रै’छ त बिमार।’ मनमनै भन्यो।
भिजेरै बसेको त्यसलाई देखेर देवेन्द्रलाई ‘जा, पर्तिर गएर बस्।’ भन्नु मन लागेको थियो तर भन्नु मन लागेकै देवेन्द्र त्यसलाई नाघेर निक्कै वरसम्म आयो। अब ऊ अर्कै मनको भयो।
घाममा, पानीमा, गरममा, जाड़ोमा जेमा पनि देवेन्द्रले त्यो मान्छेलाई ऊ त्यहॉं पुग्दा-पुग्दा त्यहीँ देख्यो। ‘संयोग हो, संयोग’ उसले आफैलाई भन्यो। ‘मान्छेले यसरी सक्तैन बस्नु’ पनि भन्यो।
कुनि कुन दिन हो एक दिन, त्यसको छेउमा आइपुग्दा शान्त बसेको त्यसलाई देखेर ‘को होला यो?’ देवेन्द्रमा जिज्ञासा जन्मेको थियो। त्यो दिन जन्मिएपछि त्यो जिज्ञासाले जन्मँदै-मर्दै-जन्मँदै गरिरह्यो ऊभित्र तर आफूभित्रको जिज्ञासा सधैँको निम्ति मार्नलाई उसले केही गरेन। मान्छेको हूलमूलमा उभेर मान्छेको छेउमा, ‘तिमी को?’ सोध्नु उसको निम्ति असम्भव सम्भव नै थियो।
बसेको त्यसको छेउमा, सुतेको त्यसको छेउमा कि त कक्रक्क परेका दुई-तीनवटा सुक्खा रोटीहरू कि त भॉंचिएका र सलक्की पनि केही बिस्कुटहरू पनि छरिएको हुन्थ्यो। एक-दुईपल्ट देवेन्द्रले त्यो मान्छेको मैला लुगामाथि बनरोटी पनि देखेको थियो। एक दिनचाहिँ उसले त्यहॉं पानीकागजको थैलीमा अलिकति तरकारी पनि देखेको थियो।
घर फर्किरहेको थियो देवेन्द्र। थोत्रे लुगाहरूमाथि गुट्मुटिएर सुतेको रहेछ त्यो। सधैँजस्तो छरपस्टिएका मैला लुगाहरूमाथि केही बिस्कुटहरू छरपस्टिएका थिए। एउटा नयॉं कुरो थपिएको थियो त्यसको टाउकोछेउमा —पुरानो एउटा अल्मुनियमको थाल। देखिरहने, दया भएको र नलजाउने पनि कसले थालमै थापेर खाओस् सोचेर राखिदिएको हुनुपर्छ भन्ने सोच्दै हिँड़िरहेको देवेन्द्रले आफ्ना दुवै हात खाली देख्यो।
अघिदेखि खाली-खाली लागिरहेको देवेन्द्रले उभिएरै ‘थुक्क!’ मुखैले पनि भन्यो।
वरिपरि हेरेर ‘साला, घाम लाग्यो कि’ भन्यो मनमनमा।
फर्क्यो। ‘कहॉं छाडॐे होला?’ सोच्दै फर्क्यो।
सुतिरहेकै देख्यो तर ध्यान दिएन यसपल्ट त्यो मान्छेलाई। छिटो-छिटो हिँड़्यो देवेन्द्र।
‘आऽऽऽ ठिकै छ पाइनँ भने, थोत्रे भइसकेको छ त्यो। नयॉं किन्छु।’ सोचु सकेको देवेन्द्रले तर त्यहीँ छाड़े होला लागेकैमा छोड़ेको रहेछ।
भित्र राखिदिएको रहेछ। नथापी भनेर थापेर पनि ‘‘धन्यवाद’’ भन्यो उसले दोकानेलाई।
त्यही छाता टेक्दै अब बिस्तारै हिँड़्न थाल्यो देवेन्द्र।
बिस्तारै हिँड़्दै ऊ त्यहॉं आइपुग्यो। उठेकै छैन रहेछ त्यो मान्छे। त्यहॉं आधा घण्टाजति अघि देवेन्द्रले नयॉं थोक पुरानो थाल देखेको थियो। त्यही पुरानो थालमा अझ नयॉं थोक आठ-दसवटा खुद्रा पैसा देखेर ऊ छक्क पर्यो।
एकदम भूल बुझाइ हो मान्छेहरूको।—मनमनै किटान गर्यो। ज्यादै स्वाभिमानी पुरुषको रूपमा बुझेको थियो उसले त्यो मान्छेलाई।
उठेपछि, पुरानो थालमा अलिकति खुद्रा पैसा देख्दा त्यसको स्वाभिमानको पुरानो र बलियो दुर्ग भत्किन्छ अब—सोच्यो देवेन्द्रले।
फेरि बौरी उठ्यो देवेन्द्रभित्र केही दिनहरूलाई मरेको ‘को होला त्यो?’
लोग्ने होला स्वास्नीले छाड़ेको।—मनमनै सोच्यो।
रक्सी खान्थ्यो होला भक्कु।— स्वास्नीले छाड़्नुको कारण पनि बनायो।
कुट्थ्यो होला स्वास्नी र मसिना नानीहरूलाई। —थप्यो।
भागेको पीरले त होइन माया गरेकी स्वास्नी अर्कैसँग?—सोध्यो आफैलाई। हुनसक्छ नि। आइमाई त हो—उत्तर बनाएर दीपक, दुर्गाबहादुर र आफ्नै मामालाई पनि छाड़ेर भाग्ने माइजू, दीपक र दुर्गाबहादुरका स्वास्नीहरूसँगै सम्झ्यो।
गति छाड़ेन त मामाले। दुर्गाबहादुरले अर्की ल्याइहाल्यो। परै दीपकले मसिना छोरा-छोरी हुर्काएन एक्लैले?—पनि सम्झ्यो।
राधा भागी भने कसैसँग त्यस्तै हुनु म?—बित्थाको प्रश्न आयो देवेन्द्रको मनमा त्यो मान्छेले गर्दा।
‘काट्छु।’ तर लोग्ने कराइहाल्यो भित्रबाट।
सक्तैनस्। तरङ-तरङ झस्किँदै बस्नुबाहेक केई गर्नु सक्तैनस्। न रुनु सक्छस्, न हॉंस्नु सक्छन्। न मर्नु सक्छस्, न बॉंचु नै सक्छस्। निक्कै दिन मरेको जस्तै बॉंचेर तर बिस्तारै तँ बॉंच्छस्। —ऊभित्रको मान्छेले उसलाई भन्यो।
हिजोआज कारणबिनै झर्किबस्छे।—सम्झ्यो।
झर्केकोहरू चार-पॉंचवटा सम्झ्यो।
पहिला निद्राले झ्याप-झ्याप पार्दा पनि ‘अँ-अँ’ भनिबस्नु पर्थ्यो। हल्लाएर उठाउँथी। उत्ता फर्केर सुतिहाल्छे ओछ्यानमा पस्नेबित्तिकै हिजोआज।—कार्यहरू देवेन्द्रले अब ठुलै कारणमा देख्नुथाल्यो।
‘‘क्या हो हन! मान्छे भने बुढ़ो भइसक्यो।’’ भनेर अस्ति राति पनि उत्तै फर्केर सुती।—सम्झेर देवेन्द्रले ज्यादै थाकेको अनुभव गर्यो।
ब्यालिसको मान्छे बुढ़ो हुन्छ?—आफैलाई सोध्यो।
पहिला सोधेर पकाउँथी। हिजोआज मलाई मन नपर्ने-नपर्ने तरकारी मात्रै पकाउँछे। भिण्डी, पोटल, वैगुण… सम्झेको देवेन्द्रले आर्द्र पायो आफूलाई।
जो नै भए पनि अर्को मान्छेको मनभित्र पस्नु सक्तैन मान्छेले।—निष्कर्षसित घर पुगेको उसलाई ‘‘किन आज छिट्टै?’’ दैलैमा सोधी राधाले।
‘‘छिटो आउनु हुँदैन घर म?’’ प्रश्न र प्रश्नमै उत्तर बिचमा व्यवधान थिएनै जस्तै थियो।
‘‘मन पर्दैन तिमीलाई म छिट्टो आ’को?’’ नभन्नु पर्थ्यो लाग्यो देवेन्द्रलाई भनिसकेर।
‘‘मन पर्दैन भनेँ मैले? भनेँ? आफू भने कैले आइपुग्छ भनेर खिड़की खोलेर हेरिरहन्छु…’’कराई राधा पनि।
‘‘खिड़की खोलेर हेरेको मलाई नै हो भनेर कसरी विश्वास गर्नु?’’ रोक्ने कोसिस गरेको थियो देवेन्द्रले। सकेन। बस्, कुरा बढ़्दै गयो। बढ़्दै गयो।
यस्तो स्थितिमा अधिकत्तर स्वास्नीहरूले गर्ने नै गरी राधाले। दराजबाट लुगा निकाली रुँदै। त्यहीँ फेरी अनि निस्की कोठाबाट र घरबाट।
स्थिति आफ्नो नियन्त्रणबाट बाहिरिसकेको छ भन्ने बुझेको मुढ़ाजस्तो देवेन्द्र मुढ़ामा बसिरह्यो।
निहुँ मात्रै चाहिएको थियो उसलाई।—लामो सास फेर्यो देवेन्द्रले।
केले केले थिचेको अनुभवको देवेन्द्र आधा घण्टाजत्तिपछि उठ्यो त्यहॉंबाट।
उठेर, के भा’को म?—आफैलाई सोधाइजस्तो भन्यो।
फेरि त्यहीँ बस्यो।
अब बिस्तारै एकपछि अरू सम्भावनामा विषालु सॉंपहरू आएर ठुँग्न थाले उसलाई। निक्कैबेर सहिरह्यो ठुँगाइहरू उसले। भर्खर खोलेको जुत्ता तान्यो र लगायो।
लगाएर बसिरह्यो।
खोलेर कुनापटि सुल्काइपठायो।
उठेर चुह्लामा गयो। कराईको ढकनी उठायो। अन्डा-चाउमिन पकाइदिएकी रहेछ राधाले उसलाई मनपर्ने।
एक क्षण हेरिरह्यो कराईको चाउमिनलाई।
हातको कराईको ढकनी लगायो।
‘खान्नँ।’ मन-मनै भन्यो।
खाएन पनि।
रात परिसकेको थियो। आफैले पकाएर पनि केही खाएन उसले। उत्तानो पल्टियो ओछ्यानमा। पल्टिनु निमन्त्रणा भयो फेरि सम्भावनाका साना-ठुला विषालु सॉंपहरूलाई। केही ठुँगाइहरूमा उसले आश्वासनको झारमौरो लगायो। राति दुई-तीनखेप उसले अँध्यारोमा पलङको कुनापट्टि हात पुर्यायो।
भित्ताको पुरानो बजे घड़ीमा बाह्रपल्ट बजेपछि एकपल्ट फेरि एकपल्ट र अझै एकपल्ट पनि बजेको सुन्यो देवेन्द्रले।
छर्लङ्गै हुनेरहेछ —सोचेको थियो तर दुईपल्ट बजेको भने सुनेन। निदाउनु सकेछ उसले। तर बिहान छिट्टै ब्युँझेको उसले निद्रा ठुलो कुरो रहेछ पीरभन्दा, बुझ्यो।
ब्युँझेको उसलाई राधाको अनुपस्थिति र धुमधाम भोक लागेको एकसाथ थाहा भयो।
खॉंदिनँ चाउमिन।— सङ्कल्प दोहोर्याएपछि ‘बाहिरै खान्छु’ पनि सोच्यो।
नौ बजीतिर दैलो ढक्ढकियो।
के-के खबरसित को-को आइपुग्छ होला सोचिरहेको उसले दैलो खोल्यो।
अघि सोचेकाहरूमध्येकै सालो रहेछ।
सधैँजस्तो भेटिरहने सालोले सधैँजस्तो नमस्ते गरेन उसलाई।
‘‘घरमा आउनुहोस् अरे; आमाले भन्नु भा’को’’ निवेदन वाक्यमा थियो तर लयमा थिएन।
जॉंदिनँ, सोचेर ‘‘किन?’’ सोध्यो देवेन्द्रले।
‘‘दिदी सॉंझमा आइपुग्नु भो,’’ भन्यो सालोले।
सालोलाई देख्दै ढुक्क पनि भइसकेको देवेन्द्र अब अझ ढुक्क भयो।
‘‘तिमी जाऊ, म आउँछु’’ भन्यो देवेन्द्रले।
‘‘लिएरै आउनू भनेको छ,’’ सालोले भन्यो।
‘‘कसले?’’ अनुहार उज्यालिहाल्यो देवेन्द्रको।
‘‘आमाले’’ सुनेर अँध्यारी पनि हाल्यो।
‘‘हैन, तिमी जाऊ। म आउँछु।’’ फेरि भन्यो देवेन्द्रले।
सालो गइसकेपछि उसले अलिक नयॉं पतलुङ र कमेज निकालेर इस्त्री लगायो। जुत्ता तानेर ब्रस र पालिस पनि तान्यो।

‘त्यो मान्छे’ बसिरहेको रहेछ।
कहिल्यै त्यसरी नहेर्ने त्यसले, त्यसको नजिक-नजिक पुगिरहेको देवेन्द्रलाई हेरिरह्यो।
त्यसको एकदम नजिक पुगेपछि देवेन्द्र, त्यसले त्यसको त्यै थाल समाएको हात अघि बढ़ाएर ‘‘दाजु’’ सुनायो। कसैलाई कर्तव्य सम्झाएको।
यत्तिका दिनहरूसम्म एकजना स्वाभिमानी पुरुषको रूपमा बुझेको त्यो मान्छेको सम्बोधनले छक्क पर्यो देवेन्द्र तर नअड़ी ऊ हिँड़िरह्यो।
अनेक सम्भावनाहरूको निष्कर्षमा, साह्रै भनेछ भने फुत्त निस्केर आउँछु —को कमजोर विचारसित पुगेको देवेन्द्रलाई पहिले सासूले नै देखी।
भएकी नै हो कि बनिएकी हो—खुशी अनुहारकी नै सासूले ‘‘ए! ज्वाइँ, आउनुहोस् न,’’ भनी।
सासू उभिरही।
‘‘अफिस?’’ बित्थाको सोधी।
‘‘आजु गइनँ,’’ बसेको उसले भन्यो।
उत्ता चुह्लातिर फर्केर सासू कराई, ‘‘राधा ज्वाइँलाई चिया बना।’’
‘‘एक छिन ज्वाइँ’’ थपेर गई उत्तै।
आमा-छोरीहरूको अस्पष्ट के-के बुझ्ने कोसिस गर्यो देवेन्द्रले। बुझेन।
निक्कैबेरपछि हातमा चियाको कप र ओठमा ब्यङ्ग्यात्मक मुस्कानसित आई साली।
‘‘म त आउनुहुन्न होला भन्दै थिएँ,’’ चिया टेबलमा राखेर भनी।
‘‘किन?’’ सोध्यो देवेन्द्रले।
‘‘तपाईँलाई दिदी अब पुरानो भएको होलाजस्तो लागेको थियो,’’ भनी।
सालीलाई हेरेर मुसुमुसु हॉंसिरह्यो ऊ।
‘‘केमा रिस उठेको थियो?’’ सोधी।
मुसुमुसु हॉंसी नै रह्यो ऊ।
‘‘बित्थामा त होइन होला नि भेना।’’
मुस्कुराइरहनु अब बल गर्नुपर्ने भयो देवेन्द्रलाई।
‘‘यस्तै हो सधैँ?’’
‘‘सोध न तिम्रै दिदीलाई,’’ मौनता तोड़्यो देवेन्द्रले।
‘‘भोलि आइतबार। आजु नजॉंदा पनि हुन्छ।’’ भेनाको टाउको टेक्न अग्रसर सालीले कुरा घुमाई।

लोग्ने-स्वास्नी त्यहॉं आइपुग्दा सॉंझ परेको थियो। मान्छेले माग्ने वृत्ति सिकाएर माग्ने शैलीचाहिँ नसिकाएको त्यो मान्छेले देवेन्द्रलाई हातको थाल बढ़ाएर निवेदनहीन लयमा भन्यो ‘‘दाजु’’।
झनक्क रिस उठेको देवेन्द्रले स्वास्नीपट्टि फर्किएर त्यो मान्छेलाई देखाएर, रिसाएरै भन्यो, ‘‘यसले गर्दा पो त।’’
नबुझेर छक्क परेकी राधाले सोधी ‘‘के?’’
‘‘घरमा भन्छु,’’ देवेन्द्रले भन्यो।

कथा : स्मृति By sushma

साभार: माईसंसार (विद्युतीय छापामा एउटा नेपाली ब्लग)

http://www.mysansar.com/archives/2012/04/id/25703#more-25703

‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’

यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो।

ऊ अर्थात् मेरी श्रीमतीकी साथी।

अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा फोन बजेको सुनेर ऊ फोन उठाउन गई। श्रीमतीको अनुपस्थितिमा उसको फेसबुकमा अनायसै आँखा गए। त्यहाँ उसकी साथीले यही स्ट्याटस् लेखेकी थिई। मैले नाम पढेँ र फोटो निकै बेर हेरेँ। स्मृति…, यो नाम मेरो लागि नयाँ थिएन, न त अनुहार नै बिर्सेको थिएँ तर आफ्ना ब्यस्त दिनचर्याका अगाडि यो नाम र अनुहार मेरो मानसपटलमा धमिलो भै दबिएको थियो। समयको फेरबदलसँग मुहार केही भरिएको थियो तर त्यही आँखा थिए, त्यही तीखा हेराइ। त्यहाँ अझै पनि त्यही तीर्खा थियो, समुद्र पिउन खोज्ने।

फोन श्रीमतीकै थियो क्यार, अर्को कोठाबाट उसले कुरा गरेको आवाज आउँदै थियो। मैले फेसबुकको फोटोबाट आफ्नो ध्यान हटाउन सकिनँ। स्मृति आफ्ना चम्किला आँखाहरुमा मलाई तानिरहेकी थिई। मैले एकछिसम्म श्रीमतीको बाटो कुरेँ। उसको गफ हत्पति नटुंगिने कुरामा ढुक्क भएर मैले स्मृतिको प्रोफाइल खोलेँ। त्यहाँ उसका अरु पनि फोटोहरु राखिएका थिए। त्यसमध्ये कुनै कुनै धेरै पुराना देखिन्थे। ब्ल्याक एण्ड ह्वाइटमा राखेकी आफ्नो एउटा फोटोमुनि उसले लेखेकी थिई, ‘ओल्ड इज गोल्ड’। अनि त्यसमाथि थुप्रै कमेन्टहरु आएका थिए। म पुनः श्रीमतीको फेसबुक एकाउण्टमा फर्केँ। स्मृतिको फेसबुकमा राखिएको स्ट्याटस्ले मभित्र सुषुप्त रहेका पुराना केही यादका पत्र उप्किँदै गए।

*****************

स्कूलमा परीक्षाको अन्तिम दिन थियो। तेस्रो घण्टी बजेपछि मैले कापी बुझाएँ। लास्ट बेन्चमा बसेकी केटीले पनि कापी बुझाई। ऊ अरु दिन पनि मैले कापी बुझाएपछि मात्र बुझाउँथी। त्यसो हुनुमा कुनै संयोग थियो वा उसको नियत, जान्दिन। ऊ हाम्रो सेक्सनकी थिइन, कुन क्लासकी भनेर चासो पनि राखिनँ। सरले सबै कापी बटुलेर गन्नु भयो र बाहिर निस्कनु भयो। साथीहरुमा मेरो मात्र सिरियल नम्बर माथिल्लो तल्लामा परेको थियो, अरु सब भुईँतल्लामै थिए। परीक्षा सकिएकोले मन हलुङ्गो थियो। मैले मजाले आङ्ग तानेँ। कम्तीमा केही दिनका लागि अब टेन्सन भएन। उमेश ‘आजको पेपर त खुवा हुन्छ’ भन्दै थियो बिहान, सायद परीक्षा चाँडै सकाई बाहिर निस्किसकेको होला। म रीक्षाहलबाट बाहिर आउँदा त्यो केटी पनि निस्की। माथिल्लो तल्लामा अरु कोही थिएनन्।

परीक्षाको समयमा क्लासभित्र किताब लान पाइन्न थियो। सबैले क्लासबाहिर र्‍याकमा किताब छाड्थे। मैले पनि त्यहीँ राखेको थिएँ। अब भोलिदेखि के गर्ने हो, मनमनै सोच्दै मैले किताब समाएँ। त्यो केटी पनि मेरै छेउ उभिई। आफ्नो हातमाथि परेको तातो र नरम स्पर्शले झसङ्ग भएको मन सम्हाल्न नपाउँदै उसले मेरो हात तानेर आफ्नो छातीमाथि राखी। उसको छाती जोडले धड्किरहेको थियो। गाला गुलाबी थिए र कान रातो देखिन्थ्यो। सोच्दै नसोचिएको कुराले म स्तब्ध भएँ। ओठमुख सुकेर जिउ काम्यो। मुटुको ढुकढुक बढेर कानै फुट्ला झैँ भयो। वरिपरि कोही थिएनन् तैपनि लाजले नीलोकालो भएँ। मैले आफ्नो हात थुतेँ र ऊतिर हेरेँ। ऊ म भन्दा खाइलाग्दी ज्यानकी थिई। उमेरमा पनि मभन्दा अलि जेठी देखिने ऊ मलाई सर्लक्क निलुँला झैँ गरी हेरिरहेकी थिई। बघिनीको अगाडि परेको पाठो बनी उसको अगाडि निरीह उभिरहेको देखेर ऊ खितिति हाँसी। आफ्नो किताब टिपेर ऊ तल ओर्लिसक्दा पनि म भनेँ त्यत्तिकै उभिरहेँ।

“तल नआइ, किन स्ट्याच्यु बनिरहेछौ? पेपर बिगार्‍यौ कि के हो?” उमेशले माथि आई नबोलाएको भए, खै म कतिबेर अझै त्यही अवस्थामा हुन्थेँ।

“हैन,” म त्यो सम्मोहनको स्थितिबाट बाहिर आएँ। मुटु अझै पनि उस्तै नराम्रैसँग धड्किरहेको थियो। उमेशले के भएको भनी मसँग निकैबेर कोट्याएर सोधिरह्यो। यो कुरा म कसरी बताउन सक्थेँ र? केही बोलिनँ। उसले कुनै लख काट्न सकेन।

हामी तल आउँदा स्कूल कम्पाउण्डमा अझै पनि केही विद्यार्थी बाँकी थिए। दिएको पेपरमा आ–आफ्ना जवाफ भेरिफाई गरिरहेको सानो झुण्ड गेटतिर लाग्दै थियो। मैले नजानिँदो आँखाले खोजेँ, अघिनैकी केटी त्यहाँ थिइन। गेटबाहिर केही केटीहरु सडकछेउ उभिएर चना चटपटे खाँदै थिए। त्यसमा त्यो केटी पनि थिई, मलाई नै हेरिरहेकी। मैले उसलाई ठाडै हेर्न सकिनँ। दायाँबायाँ नजर डुलाएँ।

चटपटे खाएर उनीहरु अगाडि लागे। उमेशले यो कुरा खासै ख्याल गरेन। ऊ खाली दिउँसो हुने फुटबल म्याचको मात्र कुरा गरिरहेको थियो। मैले कस्सेर उसको हात समाएँ। पसिनाले भिजेका मेरा हात देखेर ऊ छक्क पर्‍यो।

“तिम्रो हात कति तातो? सन्चो छैन जस्तो छ तिमीलाई।” ऊ अलि आत्तियो।
“हैन, म ठीक छु।” हामी अगाडि बढ्यौँ, दृष्टिहरु भने घरिघरि उठ्दै साथीहरुसँग अगाडि गैरहेकी उसैलाई पछ्याइरहेका थिए।

एकछिनसम्म हामी दुबै मौन हिँडिरह्यौँ।

“भरे म्याचमा तिमी आउँछौ कि आउँदैनौ?” उमेशको प्रश्नतिर मेरो ध्यान थिएन। म अझ पनि लठ्ठिएकै थिएँ। हत्केलामा नरम स्पर्श बाँकी थियो। जिउभरी उम्रिएका काँडाहरु बसिसकेका थिएनन्।

“ती अगाडि जाने केटीहरु चिन्छौ?” छुट्टिने दोबाटोनिर आइपुग्दा मैले उल्टै उमेशलाई खुसुक्क सोधेँ। “ए, अँ बुट्टावारीतिरका हुन्।” उसले सहज उत्तर दियो। मनभित्र प्रश्नका धेरै झिल्का राखेर म छुट्टिएँ।

****************
परीक्षापछिको बिदामा पोखरा जाने कुरा थियो, ज्वरोले दुई दिन थलिएँ, जानै पाइनँ। त्यो ज्वरो थियो वा अनुभूतिको उन्माद, दुई दिनसम्म रन्केको जिउमा मैले अरु केही गर्नै सकिनँ। जबजब पनि घटना सम्झन्थेँ, जिउभरि करेन्ट दौडन्थ्यो। हातबाट शुरु भएको गर्मी सम्पूर्ण शरीरभरी फैलिन्थ्यो, त्यसपछि चिम्लिएका आँखा खोल्नै मन लाग्दैनथ्यो। बन्द आँखाभित्र पनि ऊ मेरो हात तानेर आफ्नो शरीरभरी दलिरहन्थी र म सिरिङ्ग हुँदै आत्तेर आँखा खोल्थेँ। मैले यो कुरा उमेशलाई भनिनँ। उमेश त के, कसैलाई पनि भन्ने कुरै भएन।

हप्ता दिनको बिदा छिनमै सकियो। स्कूलमा फेरि चहलपहल शुरु भयो। क्लास शुरु भएको दुई दिनसम्म स्कूल हाताभरी त्यो अनुहार कतै देखिनँ। भय मिश्रित कौतुहलताले गाँजिरह्यो। स्कूलमा त्यही अनुहार खोजिरहेँ। तेस्रो दिन मेरो खोजाइमा विराम लाग्यो। टिफिन ब्रेकमा जिज्ञासावश दश क्लासका सेक्शनहरु चहार्दै हिँडेको थिएँ।

“स्ट्याच्यु।”

आफ्नो पछाडिबाट आएको मन्द आवाज सुनेर मेरा पाइला टक्क अडे। ऊ आफ्नो क्लासको ढोकामा अडेसिएर मलाई हेर्दै थिई। उसका दृष्टि तीखा सुइरा झैँ ममाथि गडिरहेका थिए। घण्टी लाग्यो र म बचेँ। हैन भने संकोच र सम्मोहनको स्थितिमा मैले पाइला चाल्नसम्म पनि सकेको थिइनँ। म दौड्दै क्लासमा फर्केँ। उमेश मलाई खोज्दै थियो।

“खाजा खानु पर्र्दैन? कहाँ पुगी आयौ?”

“लाइब्रेरी, ” सजिलै ढाटेँ मैले। मेरो फुलेको सास र खाली हात देखेर उमेशले पत्याएन पनि होला।

“क्लास टेनका कति जना केटीहरुको नाम तिमीलाई थाहा छ उमेश? ऊ मेरो प्रश्नले छक्क पर्‍यो। किनकी योभन्दा अगाडि न म यस्तो प्रश्न गर्थेँ, न यस्ता बिषयमा मलाई कुनै रुचि हुन्थ्यो। पछि मलाई बिनसित्तैको प्रश्न सोधेँ भन्ने लाग्यो। सोधिहालेथेँ तर मैले जोड गरिनँ, कुरा आयो, गयो।

उसको नाम स्मृति रहेछ, उसका साथीहरुले बोलाउँदै गरेकाले पछि एकदिन थाहा पाएँ। नाम थाहा पाएपछि मभित्र टुसाएको ऊप्रतिको आकर्षण झन् गहिरो हुँदै गयो। ऊबारे जिज्ञासाहरु घनिभूत हुँदै गए। साथीहरु कहिलेकाहीँ सिनियर केटीहरुका कुरा गर्थे, त्यो बेला उनीहरुले स्मृतिका पनि कुरा निकाल्छन् कि भन्ने आश लागिरहन्थ्यो तर उनीहरुका कुराकानीवीच स्मृति कहिल्यै आइन। साथीहरुमध्ये म सबैभन्दा कम उमेरको मात्र हैन साह्रै लजालु स्वभावको पनि थिएँ। पढाइ र फुटबलभन्दा अन्ततिर ध्यान नजाने मेरो मस्तिष्कमा स्मृतिले घर गर्दै गरेकी कुरा उनीहरुको लागि अकल्पनीय नै थियो।

स्कूल आउँदाजाँदा अधिकांश समय म आफ्ना साथीहरुसँगै हुन्थेँ। टिफिनब्रेकमा बाहिर आउँदा कहिलेकाहीँ एक्लै र समूहमा भेटिँदा पनि स्मृति मलाई घुरेर हेर्थी। एकनास गहिरोसँग हेर्ने उसका तीखा दृष्टिहरुले मलाई धुजाधुजा च्याती निर्वस्त्र गरेझैँ लाग्थ्यो। त्यही भएर मलाई ऊसँग भन्दा उसको दृष्टिदेखि डर लाग्थ्यो। साथीहरुको बीचमा लुक्दै, छेलिएर तैपनि उसलाई हेर्नबाट भने म आफूलाई रोक्न सक्दिनथेँ।

एकदिन किताब फर्काउन लाइब्रेरी जान लागेको थिएँ, ऊ कहाँबाट हो फुत्त मेरो अगाडि देखा परी। “कहाँ हिँड्न लागेको?” उसले जानी जानी सोधेकी प्रश्नमा मेरो सातो गयो। म रातो मुख लाएर उभिएँ। ऊ केही नबोली फर्की। सायद मेरो अबोधपनामा ऊ खिन्न पनि भई। त्यो दिन पहिलो चोटि उमेशलाई स्मृतिले जिस्काएकी कुरा सुनाएँ। उसले यो कुरालाई हल्का लियो,“ऊ जसलाई पनि जिस्काउँछे तर कसैले उसलाई जिस्काएमा भित्तै पुर्‍याउँछे रे, ख्याल गर्नू।”

म डराएँ। एक त आफ्नै संकोच, अर्को स्मृतिभन्दा सानो भएको हीनताबोधले ऊसँग सम्बन्ध बढाउन पहल गर्न सकिनँ। त्यो मात्र हैन, स्कूल प्रिन्सिपलको छोरो भएको कारणले पनि म आफ्नो र बुवाको छविप्रति बढी सजग थिएँ। त्यो दिनदेखि स्मृतिले बोल्ने कोशिस चैँ गरिन। ऊसँग देखादेखभन्दा बढी सम्बन्ध लम्बिन सकेन मेरो। जे भए पनि मेरो कलिलो मनमा उसले अचानकै हलचल ल्याएकी थिई।

उसको एसएलसी सकिएपछि भने हाम्रो देखादेख पनि टुट्यो। उसले कहाँ र के पढी, थाहा पाउन सकिनँ। कसैले भने, ऊ काठमाण्डौ गई। मेरो पनि एसएलसीको चिन्ता थियो। स्कूल, ट्युसनको टेन्शनमा स्मृति अलिकति ओझेलमा परी। एस.एल.सी.सकियो।

दाइले साइन्स पढ्नु भएको थियो, मैले पनि त्यही अनुसरण गरेँ। आइ.एस्सी धरान र बी.एस्सी. मेची क्याम्पसबाट पास गरेँ। ठूल्दाइ काठमाण्डौमै हुनुहुन्थ्यो। त्यसपछि हत्केलाभरि तातो साँचेर म काठमाण्डौ आएँ। ठूल्दाइकोमा बस्दै मैले शंकरदेव क्याम्पसबाट एम.बी.एस. गरेँ। बाल्यकालको कठोर अनुशासनबाट टाढा क्याम्पसका निरज, याम र चन्द्रका संगतले मलाई आफ्नो संकोचको घेराबाट धेरै हदसम्म बाहिर आउन सिकायो। मैले केटीहरुलाई जिस्काउन जानेँ, उनीहरुसँग धक नमानी कुरा गर्न सिकेँ, उनीहरुलाई साथी बनाउन सकेँ तर हत्केलाको गर्मीले पग्लिएको मनको सानो कुनो अझै पनि भरिएको थिएन।

कुरैकुरामा एकदिन साथीहरुबाट थाहा पाएँ स्मृतिले बिहे गरिछ त्यो पनि आफूभन्दा पाँच वर्ष कान्छो केटासँग। हत्केलाको गर्मी केही चिसियो। यो उसको मामला थियो, उसको स्वतन्त्रता, त्यसमा हनन् गर्ने अधिकार मसँग थिएन तर म आफ्नो तर्फबाट सोच्न सक्थेँ र मेरो कल्पनामा कोही अंकुश लगाउन सक्दैनथे। बितेका धेरै बर्षहरुले पनि हत्केला चिस्याएन। हत्केलामा बसेको तातो स्पर्शको अनुभूतिभित्र स्मृति बसिरही। बन्द आँखाबाट बिगतको सानो टुक्रामा प्रत्येक पटक चियाउँदा त्यो पल ताजा हुन्थ्यो र जिउ धक्क फुल्थ्यो। स्मृति नरम स्पर्शले घुरिरहन्थी।

एक दिन उमेशले सुनायो, “स्मृतिले आफ्नो श्रीमान्लाई डाइवोर्स गरी रे।” म छक्क परेँ। “त्यस्ती मापाकी केटीले श्रीमान् के सहन्थी होला र?” ऊ हाँस्यो। मुटु हल्का काम्यो मेरो। दोहोर्‍याएर उमेशलाई हेर्न सकिनँ मैले। ऊ कहाँ छे भनेर सोध्न खोजेको प्रश्न मनैभित्र दबाएँ। ‘काठमाण्डौ सानो छ, कुनै दिन त ऊसँग जम्काभेट कसो नहोला?’, हत्केलाको तातो मुटुमा सर्‍यो, हल्का करेन्ट लाग्यो र मन तरङ्गियो।

“हैन, मेरो फेसबुक अघि के गर्दै हुनुहुन्छ?” श्रीमती फोनमा कुरा टुङ्गयाएर कतिबेला आई, चालै पाइनँ। “स्मृतिले फोन गरेकी। भोलि घर आउँछु भन्दै थिई। ” मनिर बस्दै उसले भनी।

“कहिलेदेखिको साथी हो स्मृति तिम्रो?”

“धेरैभा’को छैन तर निकै इन्टिमेट बनिसक्यौँ। भोलि टीनएज सेक्रेट पनि बताउँछु भन्थी।” श्रीमती ओठभरि रहस्य पोतेर मुस्काई।
“के होला, गेस गरौँ न?”
“तिम्रा साथीहरुका के कस्ता सेक्रेट हुन्छन्, मलाई थाहा हुन्छ र? ”
“हरेक मान्छेका सेक्रेट हुन्छन् रे नि।” श्रीमतीले मलाई छड्के हानी।
“के नचाहिने प्रसङ्ग लिई बसेकी” झसङ्ग भएँ। मैले उसको अनुहारमा हेर्न सकिनँ। गएर बेडमा पल्टेँ। एकछिनमा ऊ पनि आइपुगी। बत्ती निभाएर बेडमा मसँग टाँसिई र मेरो हात उठाएर आफ्नो छातीमाथि राखी, त्यही हात, जसभित्र अर्ध विकसित नरम स्पर्शको तातो थियो। श्रीमती त मेरो अंगालोभित्र निदाइहाली, म सुत्न सकिनँ। बीचमा स्मृति थिई, म उसलाई हटाउन सकिरहेको थिइनँ।