ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

Views:
403

एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे ।
दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौं‌न ।”
चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति भनेर चट्टु दिसा बस्न गयो ।
एकछिनपछि त चट्टुले कराउँदै आएर भन्यो।- “क्या‍ अचम्म भो ।”
ससुरोले सोधे- “के भयो, ज्वाईं?”
चट्टु ले भन्यो- “गाडामा राखेको मुलाको एउटा पातले गाडा त लच्कि पो राख्याछ, गोरूले गाडा तान्नै सकेन । गाडावालले गोरूलाई कुट्याकुट्यै गरिराख्याछ ।”
ससुरो दौडेर हेर्न गयो । त्यसपछि सासु आएर चट्टुलाई सोधेछन्- “ससुरा किन दौडेका हुन्, ज्चाईं ?”
”खै, एउटा तरुनी आई, मसक्कै मस्की, उसैको पछि दौडिए ।”- चट्टु्ले जवाफ दियो ।
“त्यसलाई, पातकी बूढो, कतापट्टि मुन्टिए, हँ ज्वाईं ?” -सासुले आत्तिंदै सोधे।
चट्टुले भन्यो- “पूर्वतिर ।” बूढी उतैतिर दौडिई।
एकछिनपछि बूढो आयो र भन्यो- “मैले त गाडा देखिनँ त । हैन तपाईंकी सासु खै त ज्वाईं ?”
चट्टुले भन्यो- “खै, एउटा मान्छे आएर आँखा सन्कायो, ऊसैको पछि लागेर गए ।”
“त्यस राँडलाई नमारी छोड्दिन, कतातिर गई?” ससुराले रन्केर सोधे ।
“पश्चिधमतिर ।”- चट्टु ले बतायो ।
बूढो उतैतिर कुदे ।

बेलुकातिर बूढाबूढी दुबै घर आइपुगे ।
बूढी च्याँठिए- “हेर, पातकी बुढो, मर्ने बेलामा तरुनीको पछि लागेको ।”
बूढो कुर्लिए- “तँलाई, बजिनी, गुण्डा खोज्दै हिड्छस्, अझ मसित निहुँ खोज्छेस् ?”
बूढाबूढीको लुछालुछ भएपछि चट्टु,ले भन्यो- “ल भो भो अब, के को लुछालुछ, गफै त गर्यान हो नि मैंले। यस्तो कुरामा नि के को रडाको? ल अब गफ सिध्दियो, सफ सुन्नु स् ।”

त्यसपछि चट्‌टुले सुनाउन थाल्यो-

“देखेको कुरा साँचो, सुनेको कुरा झुटो ।
काम लिंदै नलिनू, लिएपछि झिंजो नमान्नू ।
जारी गर्ने मानिस छेपारो देखे नि तर्सन्छ ।
मान्छे बूढो हुन्छ तर बानी जाँदैन ।

विचार नगरी केही कुरा नगर्नू ।
घोडा हेर्दा असल जात हेर्नू,
कन्या हेर्दा असन कुल हेर्नू ।
कुलाचार नछोड्नू ।

सुत्दा गोडा पसार्ने ठाउँ हेर्नू ।
आम्दानी अनुसार खर्च गर्नू ।
धन लिंदा गुप्त गर्नू, दिंदा प्रकट गर्नू ।
काँचो माटो र कच्चा छोरा जता लगायो, उतै लाग्छ ।

आज जस्तो भोलि हुँदैन ।
बूढाहरू नभएको सभा कच्चा हुन्छ ।
भाग्यमा नभएको कुरामा बुध्दि जाँदैन ।
चुक्ली जस्तो पाप अरू कुनै हुँदैन ।

दशा नलागी भूत लाग्दैन ।
भात खाई जात नसोध्नू ।
सज्जन शत्रु निको, दुर्जन मित्र ननिको ।
परत्र सम्झी काम गर्नू, जीउ जमीनको व्यापार नगर्नू ।

सिरान फेर्ने बिरामी, कुरा फेर्ने झगडिया धेरै टिक्दैनन् ।
दुर्जनका दाँत कोखामा हुन्छ ।
कुकुरलाई नून, बैगुनीलाई गुन ।
मुख छँदै नाकले पानी पिउनु हुन्न् ।

एउटाको जरो नखनी अर्कालाई ओखती हुन्न ।
आगो र शत्रुलाई सानो नसम्झनू ।
काललाई ओखती लाग्दैन ।
कुबेलामा खान दिने भन्दा बेलैमा बिदा लिने असल ।

लोग्ने मानिसको घर छैन, स्वास्नी मानिसको थर छैन ।
थ्याच्च नबस्नू, प्याच्च नबोल्नू ।
सबै थोक पोखिए उठाउन हुन्छ, कुरा पोखिए उठाउन हुन्न ।

लौ त अब सफ पनि सकियो ।
अब बाँकी के छ ?”

जिल्ल पर्दै ससुराले भने- “छैन । अब भात खान मात्र बाँकी छ ।”
ज्वाईं-ससुरा खाना खान बसे । सासूले मासु पकाएर दिई ।
चट्टु ले भन्यो- “मासु त खुब मीठो छ नि ! कहाँबाट ल्याउनु भो सासुज्यू ?”
सासुले भनिन्- “तल घरमा 50 धार्नीको चरो मारेछन् । एक धार्नी ल्याएर पकाएको नि ।”
चट्टु- “धत्, 50 धार्नीको चरा नि हुन्छ काहीं ?”
सासु- “अनि, मुलाको एउटा पातले गाडा लच्किन्छ काहीं ?”
गफै त हो । चट्टुन पनि चूप लाग्यो ।

ससुरालीमा रात बिताएर चट्टु भोलिपल्ट घर लाग्यो ।

सुन्नेलाई सुनको माला भन्नेनलाई फूलको माला
भन्ने बेला तात्तातै मुखमा आइजाला
यो कथा चाहिएको बेला बैकुण्ठ जाला

(Visited 701 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *